पोखरा । मुलुकमा समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछी नागरिक अगुवा तथा मानव अधिकारकर्मीहरु पहिलो पटक आज पोखरामा सडक प्रदर्शनमा निस्किए ।
१० वर्षीय जनयुद्ध र त्यसपछिका केही वर्षहरुमा नागरिक अधिकारको सुनिश्चितताका लागि सक्रिय रहेका उनीहरु आज दुई पटक सम्म करोडौं रुपियाँ खर्चिएर संविधानसभाबाट स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान खतरामा पुगेको भन्दै आज सडक प्रदर्शनमा उत्रिएका हुन् ।
२०७२ सालमा नेपालको संविधान जारी हुनु अघिसम्म पोखरामा शान्तिका लागि नागरिक समाजको संजालमा आवद्ध विभिन्न संघ–संस्था , नागरिक अगुवा र मानव अधिकारकर्मीहरुले पोखरामा नागरिक अधिकारको सुनिश्चितताका लागि सक्रियतापूर्वक विभिन गतिविधिहरु गर्ने गरेका थिए । नेपालमा संविधान जारी भएपछी भने पोखराको नागरिक आन्दोलन सुशुप्त अवस्थामा पुगेको थियो ।
राजतन्त्र स्थापना गर्ने नाममा राजावादीहरुले गएको चैत १५ गते काठमाण्डौको तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेपछि त्यसको विरोधमा आज पोखराका नागरिक अगुवा र मानव अधिकारकर्मीहरुले गैरसरकारी संघ–संस्था महासंघ गण्डकी प्रदेश समितिको आयोजनामा सडकमा प्रदर्शन गरेका हुन् ।
आज पोखरामा आयोजित सडक प्रदर्शन कार्यक्रममा सहभागीहरुले नागरिक सुसुचित गराउने कर्ममा लागेको पत्रकार लाई ज्युँदै जलाएर मारिएको घटनाको विरोध गर्दै बिशेष छानविन गरेर दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरे ।
साथै उनीहरुले नागरिक सुसुचित गराउने कर्ममा लाग्दा लाग्दै ज्यान गुमाएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेशलाई शहिद घोषणा गरी उचित क्षतिपुर्ति दिलाउन सरकारसंग माग पनि गरे।
नेपालमा अब कहिल्यै पनि राजतन्त्र पुनस्र्थापित हुन् नसक्ने जिकिर गरेका बक्ताहरुले अहिलेको अवस्था आउनुमा राजावादीहरुलाई मात्र दोष दिएर नहुने गणतन्त्रबादी राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु सच्चिएर जनताको पक्षमा उभिनुपर्नेमा जोड दिएका थिए।
त्यस अवसरमा नेपाल बार एशोसिएशनका पुर्व केन्द्रीय उपाध्यक्ष बरिष्ठ अधिबक्ता सुरेन्द्र थापा मगर , गैरसरकारी संघ–संस्था महासंघका निवर्तमान अध्यक्ष रामप्रसाद सुबेदी, , नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष रमेश पौडेल, नागरिक अगुवा बिष्णु प्रसाद बराल, जनआन्दोलन भाग २ का ज्यूँदो शहिद शेखर गौतम लगायतले बोलेका थिए।
यसैगरी नेपाल पत्रकार महासंघको केन्द्रले आव्हान गरे बमोजिम नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्यहरुले आकÞ्ज आफ्नो कार्य क्षेत्रमा कालोपट्टी बाँधेर बिरोध जनाए। नेपाल पत्रकार महासंघ कास्कीले एभिन्युज टेलिभिजनका पत्रकार संदेश रजकको ज्युँदै जलाएर गरिएको हत्या गरिएको बिरोधमा शनिबार मात्र पोखरामा प्रदर्शन गरेको थियो।
प्रतिक्रिया