रामेछाप । वाग्मती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले वाग्मती प्रदेश सरकाले अब फरक ढंगले काम गर्ने बताएका छन् ।
आइतबार नेकपा एमाले रामेछापको चौथो विस्तारित बैठकमा बोल्दै सिलवालले प्रदेश सरकारले नागरिकका समस्या समाधान गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘आवश्यकताको आधारमा योजना लिएर आउन्, प्रदेश सरकारले यथोचित सम्बोधन गर्छ’, उनले भने ।
अहिले पनि केन्द्र र प्रदेश सरकारले काम गरिरहेको बताउँदै सिलवालले केही भएको छैन, केही हुँदैन भनी फिँजाइएको भ्रम चिर्न आवश्यक रहेको बताए । राजतन्त्र र गणतन्त्रको बेलामा भएको काम तुलना गरेर हेर्न पनि उनले आग्रह गरे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनामा शङ्का नगर्न आग्रह गरे । ‘नेपालको राजनीतिमा केपी ओलीको योगदान तीन पुस्ता पछिले पनि सम्झने छ’, उनले भने ।
केही मानिसले युरोप र अमेरिकाको कुरा मोबाइलमा हेरेर राजनीतिक दललाई गाली गरिरहेका बताउँदै उनले त्यसको लागि समय लाग्ने स्पष्ट पारे ।
‘एकै पटक सबै अभिलासा पुरा हुँदैन, समय लाग्छ तर हाम्रै पालामा समृद्धि आउँछ, समृद्धि सम्भव छ, हाम्रा छोरा नातीले सुन्दर देशमा बसेर विश्वलाई देशमा आउन आमन्त्रण गर्न सक्छन्’, उनले भने ।
प्रतिक्रिया