Logo

मुख्य समाचार

भारतका ठूला कम्पनीहरु नेपालका जलविद्युत परियोजनामा लगानी गर्न तयार


१५ चैत्र २०८१, शुक्रबार  

92
Shares

नयाँ दिल्ली । नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि भारतीय ठूला व्यापारिक घरानाले नीतिगत सुरक्षासहित लगानीको प्रतिफलको ग्यारेन्टी र सहज लगानी फिर्तीको व्यवस्था खोजिरहेका छन्। उनीहरुले जलविद्युत परियोजनामा सामना गरिरहेका तीन प्रमुख समस्याहरुको समाधानका लागि नेपाल सरकारसँग सहयोगको अपिल गरेका छन्।

नेपाल-भारत इनर्जी समिटमा सहभागी भएका भारतीय व्यवसायीहरुले सरकारको सहजीकरण र समस्याहरु समाधान गर्नको लागि समर्थनको माग गरेका छन्। समिटको आयोजनामा नेपाली राजदूतावास भारत र IFGE (Indian Federation of Green Energy) को संयुक्त पहल र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को सहभागिता रहेको थियो।

नेपालमा ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज जलविद्युत निगमका आयोजना निर्देशक सुशील शर्माले नेपालमा वन, जग्गा प्राप्ति, भन्सार र सडक जस्ता समस्याहरु समाधान गर्न सरकारको सहजीकरण आवश्यक रहेको बताए। उनले २१७ किलोमिटर लामो प्रसारणलाइन निर्माण गरिरहेको र सरकारको सहयोगका कारण ३ वर्षमा आयोजना ८४ प्रतिशत सम्पन्न भएको जानकारी दिए।

भारतका प्रमुख व्यापारिक घराना अडानी ग्रूपका उपाध्यक्ष जयरमन पुनिधानले नेपालका जलविद्युत परियोजनामा लगानी गर्न इच्छुक रहेको बताए। उनले २,000 मेगावाट आयोजनाको विकासमा जोड दिने र भविष्यमा ५,000 मेगावाटसम्म विद्युत उत्पादन गर्ने लक्ष्य राखेको जानकारी दिए। अडानी ग्रूपले नेपालमा सरकार वा निजी क्षेत्रसँग पार्टनरशिप गरेर परियोजना अगाडि बढाउन सक्ने बताएको छ।

भारतीय ऊर्जा मन्त्रालयका अतिरिक्त सचिव आकाश त्रिपाठीले नेपाल र भारत बीच विद्युत आदानप्रदानको संरचना तयार भएको र नेपालबाट भारत र बंगलादेशमा विद्युत निर्यातका लागि वातावरण तयार भएको बताए। उनले भारतमा विद्युत खपत नभए पनि नेपालबाट उत्पादित विद्युतलाई भारत वा बंगलादेशमा विक्री गर्न सक्ने वातावरण बनिसकेको बताएका छन्।

आईएफजीई का वरिष्ट कार्यसमिति सदस्य नरेश गोयलले नेपाल सरकारले प्रशासनीक अवरोध हटाएर लगानीको वातावरण सिर्जना गर्ने हो भने भारतीय लगानीकर्ताहरु नेपालमा लगानी गर्न तयार रहेको बताए।

नेपाल-भारत इनर्जी समिटमा इप्पानका अध्यक्ष गणेश कार्कीको नेतृत्वमा ३४ जना ऊर्जा उत्पादक सहभागी थिए।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ११ : ०८ बजे