दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने निर्णय गरेको छ। चार दिनदेखि आन्दोलनरत दोलखा जिल्लावासी करार कर्मचारीहरूसँग आज कम्पनीले सहमति गर्दै सबै कर्मचारीहरूको सेवा सुविधामा समानता ल्याउने प्रतिबद्धता जनाएको हो।
कम्पनीको अनुसार अब बाहिर जिल्लाबाट आएका र दोलखा जिल्लावासी करार कर्मचारीहरूको तलब तथा अतिरिक्त सुविधाहरू समान हुनेछन्। यस निर्णयसँगै, जिल्लावासी कर्मचारीहरूको तलबमा वृद्धिको सम्भावना छ। सहमतिका अनुसार, फागुन महिनादेखि लागू हुने यो सुविधा आगामी चैत महिनामा कर्मचारीको तलबमा समावेश गरिने छ।
पहिले कम्पनीले जिल्लाबाहिरका कर्मचारीलाई ७५ प्रतिशत र दोलखा जिल्लावासी कर्मचारीलाई ५० प्रतिशत सुविधासम्म उपलब्ध गराएको थियो। अब, यो सहमति कार्यान्वयन भएपछि कर्मचारीहरूको सेवा सुविधामा एकरूपता आउने छ।
कर्मचारीहरूले गत असोज ६ गते आयोजना व्यवस्थापनसँग यस प्रकारको सुविधामा समानता ल्याउने सहमति गरेका थिए, जसलाई माघ मसान्तसम्म कार्यान्वयन गर्न भनिएको थियो। तर आयोजनाले समयमा कार्यान्वयन गर्न नसकेपछि, चैत १० गतेदेखि कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए। आजको वार्ता र छलफलमा, आयोजनाले ढिलाइ भएकोमा माफी मागेको छ।
सहमति पत्रमा प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद गौतम, आयोजना प्रमुख मनोज ताम्राकार, केन्द्र प्रमुख पूर्णगोपाल रञ्जित, अर्थ महाशाखा प्रमुख सुरेश राज खकुरेल, प्रशासन महाशाखा प्रमुख अनिता बजगाईं, र उप–निर्देशक (प्रशासन) मित्रमणि पोखरेलले हस्ताक्षर गरेका छन्। दोलखा जिल्लावासी करार कर्मचारी संघर्ष समितिको तर्फबाट संयोजक रामबहादुर खड्का र सदस्यद्वय नवराज खड्का र सुनतारा तामाङले हस्ताक्षर गरेका छन्।
सहमति अनुसार, कर्मचारीहरूले आफ्नो संघर्षका सबै कार्यक्रम फिर्ता लिएका छन् र भोलिदेखि नियमित काममा फर्किने छन्।
यसैबीच, माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा कार्यरत चार जना दैनिक ज्यालादारी कर्मचारीहरूलाई महिनाको ३० दिनसम्म अनिवार्य काममा लगाउने व्यवस्था मिलाइनेछ। साथै, कम्पनीले प्राविधिक र प्रशासन सेवामा केही कर्मचारीहरूको तालिम र योग्यता अनुसार पद समायोजन गर्ने सहमति पनि जनाएको छ।
आन्दोलनपछि भएको यस सहमतिले कर्मचारीहरूको सेवा र सुविधामा सुधार ल्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया