Logo

प्रदेश

अपर तामाकोशीका कर्मचारी चार दिनदेखि आन्दोलनमा, विभेद अन्त्यको माग



दोलखा । अपर तामाकोशी हाइड्रोपावरका कर्मचारीहरू सेवा सुविधामा विभेद भएको भन्दै चार दिनदेखि आन्दोलनमा उत्रिएका छन्। ५४६ मेगावाट क्षमताको यस जलविद्युत आयोजनामा दोलखा जिल्लावासी र अन्य जिल्लाका कर्मचारीहरूबीच भेदभाव गरिएको आरोप छ।

कर्मचारी संघर्ष समितिका अनुसार, असोज ६ गते भएको सहमति अनुसार सबै कर्मचारीका सेवा सुविधामा समानता ल्याउने निर्णय माघ मसान्तसम्म कार्यान्वयन गर्नुपर्ने थियो, तर व्यवस्थापनले अझै सो सहमति कार्यान्वयन नगरेको बताइएको छ।

संघर्ष समितिका संयोजक रामबहादुर खड्काका अनुसार, कम्पनीको बेवास्ता र धम्कीपूर्ण व्यवहारका कारण आन्दोलन जारी राख्ने निर्णय गरिएको छ। हाल, दोलखाको बिगु गाउँपालिकास्थित आयोजनाको कार्यालयमा शान्तिपूर्ण धर्ना र विरोध सभा भइरहेको छ।

यद्यपि, ‘प्लान्ट अप्रेशन’मा कुनै अवरोध नगर्ने गरी, आपतकालीन अवस्थामा सवारी सञ्चालन गर्न दिइने खड्काले जानकारी दिएका छन्। कर्मचारीहरूको आन्दोलनले निर्माण र पुनर्निमाण कार्यमा कुनै प्रभाव पार्न नसकेको पनि उनले बताए।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ४ : ३९ बजे