काठमाडौं । बुधबार प्रतिनिधिसभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेदेखि सुरू हुने बैठकमा ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ ।
त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसूची संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया