बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले सरकारी साधनहरूको दुरुपयोग रोक्न कडाई गर्ने निर्णय गरेको छ। सरकारी कार्य बाहेक सवारी साधन प्रयोग गर्नुपर्ने अवस्थामा शनिबार वा विदाको दिनमा कारण खुलाएर सवारी पास लिन अनिवार्य गरिएको छ।
साथै, कार्यालय प्रमुखलाई विशेष काम वा तालिम बाहेक जिल्ला नछोड्न निर्देशन दिइएको छ। प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अगुवाईमा ५ चैत्रमा सम्पन्न कार्यालय प्रमुखहरूको बैठकमा सेवा प्रवाहमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो।
उपाध्यायले बैठकमा भने, चैत्र, वैशाख र जेठ महिनामा कार्यसम्पादनका लागि महत्वपूर्ण समय रहेकोले कार्यालय प्रमुखहरूले तालुक निकायका कार्यक्रमहरूमा सहभागी हुनु पर्नेलाई पूर्वजानकारी दिइ, काममा अवरोध नपुग्ने गरी व्यवस्था मिलाउन आग्रह गरिएको छ।
आगलागीका घटनाहरू बढ्ने सम्भावना रहेकोले कार्यालय प्रमुखलाई आगलागीका घटनामा सजग रहन र आवश्यक जनशक्ति तथा स्रोतसाधन तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।
प्रतिक्रिया