Logo

समाचार

कोशी प्रदेश सभाको हिउँदे अधिवेशन १२ बजेबाट अन्त्य हुने



इटहरी । कोशी प्रदेशसभाको चालु छैठौँ अधिवेशन बिहीबार राति १२ बजेबाट अन्त हुने भएको छ । बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी गराए ।

उनका अनुसार चालु हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । उनका अनुसार बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ समेत स्वीकृति गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, बैठकले समस्याग्रस्त सहकारी संस्था वा संघ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गर्दै समितिको कार्यालयका लागि १ करोड २८ लाख ६० हजार रुपैयाँ बाँडफाँट गर्न स्वीकृत प्रदान गरेको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको लागि अनुमानित सीमा १ अर्ब ५० करोड तथा राजस्व बाँडफाँटको अनुमान सीमा १ अर्ब १० करोड स्वीकृत गर्ने निर्णयसमेत बैठकमा भएको छ ।

बैठकले उच्च तथा जिल्ला अदालत सुदृढीकरणका लागि १ करोड ५० लाख बाँडफाँट गर्न स्वीकृत प्रदान गरेको उनले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  १ : ५७ बजे