Logo

खेलकुद

नयाँ प्रशिक्षकसहित नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाई



काठमाडौं । सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तरगत मलेसिया विरुद्धको खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाई गरिएको छ ।

मंगलबार काठमाडौंको कोटेश्वरस्थित डिस बुटिक होटलमा आयोजित कार्यक्रमका बीच उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले बिदाई गरिएको हो ।

सोही क्रममा टोलीका कप्तान किरण चेम्जोङले नयाँ कोचले छोटो समयमा जतिपनि तालिम दिनुभएको छ त्यो टोलीका सबै खेलाडीहरुले सकरात्मक लिएकाले आउने खेलमा पक्कै पनि केही परिवर्तन हुने बताए । 

उनले भने, ‘हामी एकदमै उत्साहित छौं । यसपाली हाम्रो कोच पनि नयाँ हुनुहुन्छ र उहाँ पनि हामीसँग काम गर्न पाउँदा उत्साहित हुनुहुन्छ । नयाँ कोचले छोटो समयमा जतिपनि तालिम दिनुभएको छ । टोलीका सबै खेलाडीहरुले राम्रो तरिकाले लिएका छन् । केही नयाँ कुराहरु सिक्न पाएका छौं । पक्कैपनि केही परिवर्तन देख्न पाउनु हुनेछ ।’

साफको तयारी भइरहेका बेला साफभन्दा दुई हप्ता अगाडि एउटा सिरिज नेपालमा नै खेल्न पाइयो भने एकदमै राम्रो हुने पनि उनको भनाइ छ ।

यस्तै, प्रशिक्षक म्याट रोसले नेपालमा धेरै राम्रो खेलाडीहरु भएका कारण छनोटको क्रममा समस्या भएपनि सबैमध्ये उत्कृष्ट खेलाडीहरु छनोट गरेको बताए ।

खेलाडीहरुले कस्तो खेल्छन् भनेर हेर्न उत्साहित रहेको भन्दै उनले टोलीलाई नेतृत्व गर्ने सपना पूरा भएको बताए ।

उनले भने, ‘खेलाडीहरुको प्रस्तुती, प्रतिबद्धता एकदमै राम्रो छ । तालिम दिने बेला कुनै पनि खालको समस्या भएन । नेपालमा धेरै राम्रो खेलाडीहरु छन्, त्यही कारण छनोटको क्रममा भने समस्या भएको थियो । अहिले सबैमध्ये उत्कृष्ट खेलाडीहरु छनोट गरेको छु । हाललाई धेरै प्रेसर महशुस गरेको छैन् । तर म उत्साहित छु ।’

उनले परिणामको बारेमा अहिले भन्न सकिने अवस्था नभएपनि बलियो र सकरात्मक प्रस्तुतीको आशा गरेको भन्दै प्रतिस्पर्धा गर्ने टोली पछाडि नहट्ने सोचमा रहेको बताए ।

नेपालले यही मार्च २१ मा सिंगापुरसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि एसियन कप छनोटको अन्तिम चरणको पहिलो खेल मलेसियासँग मार्च २५ मा मलेसियामै खेल्नेछ ।

अष्ट्रेलियन प्रशिक्षक म्याट रोस मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपाली फुटबल टिमले पहिलो पटक खेल्न लागेको हो ।

रोसले सिंगापुर र मलेसियाका लागि २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । यस पटक गोलकिपर अन्जल श्रेष्ठ, डिफेण्डर सुमन श्रेष्ठ र फरवार्ड सुबास बम ठकुरी तीन नयाँ खेलाडी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  २ : १८ बजे