Logo

प्रदेश

जनकपुरधाममा शनिबार होली, १७ स्थानमा ट्राफिक चेकिङ्ग, ५ सय प्रहरी तैनाथ


३० फाल्गुन २०८१, शुक्रबार  

138
Shares

जनकपुर । तराई मधेशमा आज होली मनाइँदैछ तर जनकपुरधाममा भने भोली मात्र होली मनाईने छ । जनकपुरलगायत मिथिलाञ्चल क्षेत्रमा माध्यमिकी परिक्रमा सम्पन्न भएको भोली पल्ट मात्र होली खेल्ने परम्परा रहेकोले, जनकपुरधाममा भोली होली मनाईन्छ ।

जनकपुरधामको होली देशैभरमा प्रख्यात रहेको छ । खासगरी जनकपुरधाममा हुने मट्काफोर र हिलो खेल्ने परम्पराले जनकपुरधामको होलीलाई अन्य भेग भन्दा आकर्षक बनाएको हुन्छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाले होलीमा कुनै उत्श्रृङखल गतिविधी नहुन दिन विशेष सुरक्षा योजना लागु गरेको छ ।

कुनै पनि अप्रिय घटना नघटोस् भन्ने उद्देश्यले धनुषा प्रहरीले ५ सय प्रहरीको टोली तैनाथ गर्दै व्यापक सुरक्षा व्यवस्था मिलाएको छ । प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीका अनुसार जनपथ, सशस्त्र, राष्ट्रिय अनुसन्धान र प्रदेश प्रहरी कार्यालयबाट थप प्रहरी टोलीको सहयोगमा यो सुरक्षा योजना बनाइएको हो । उनले भने, ‘हामी होलीको हर्षोल्लासलाई रोक्न चाहँदैनौं । तर, हामीले सम्भावित अप्रिय घटनालाई रोक्नका लागि यो सुरक्षा योजना बनाएका हौं ।’

सुरक्षा योजना अन्तर्गत धनुषा जिल्लाका प्रमुख स्थानहरूमा विशेष निगरानी राखिनेछ । सर्वसाधारणको भीड हुने स्थानहरू, परिक्रमा स्थलहरू, नाका, पार्किङ एरियाहरू र होली सेलिब्रेशन हुने स्थलहरूमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीको नेतृत्वमा होली पर्वलाई सुरक्षित र सभ्य बनाउने उद्देश्यले विभिन्न सुरक्षा उपायका साथै निर्देशन जारी गरिएको छ ।

होलीको दिन कुनै पनि सवारी साधन नियम उल्लङ्घन गरेमा उनीहरूलाई कडा कारबाही गरिनुका साथै कारबाहीमा परेका सवारी साधनलाई भोलिपल्ट मात्र छाडिने जनाइएको छ ।

धनुषा जिल्लामा होली पर्वको समयमा ६० जना ट्राफिक प्रहरी प्रमुख चोक र मार्गहरूमा कडा निगरानी गर्नेछन् । १७ स्थानमा चेकिङ्ग हुनेछ भने ५ स्थानमा मादक पदार्थ सेवन जाँच (मापसे)  गरिने निरीक्षक वलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ७ : ०० बजे