Logo

मुख्य समाचार

तामाकोशी पाँचौंमा तनाव : श्रमिकहरूको चरणबद्ध आन्दोलन, कामकाज ठप्प


३० फाल्गुन २०८१, शुक्रबार  

92
Shares

दोलखा,– दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाका श्रमिकहरूले कामकाज ठप्प पार्दै चरणबद्ध आन्दोलन सुरु गरेका छन्। ‘सिनो हाइड्रो–केएसएनएस जेभी’ नामक ठेकेदार कम्पनीले नेपालका श्रम कानुन पालना नगरेको आरोपमा श्रमिकहरू आन्दोलनमा उत्रिएका हुन्।

आयोजना अन्तर्गत अडिट–१ र २ को ठेक्का लिएको कम्पनीले श्रमिकका १३ बुँदे माग पूरा नगरेपछि उनीहरूले आजदेखि विरोध कार्यक्रम सञ्चालन गरेका छन्। विरोध स्वरूप, उनीहरूले आयोजनास्थलबाट १६ किलोमिटर टाढा रहेको सिंगटी बजारदेखि गोंगरसम्म र्‍याली आयोजना गरे।

प्रेस विज्ञप्ति जारी गर्दै श्रमिकहरूले भने, “आन्दोलनका क्रममा हरेक दिन एक घण्टा विरोध सभा र शान्तिपूर्ण धर्ना कार्यक्रम गरिनेछ।” त्यस्तै, श्रमिकहरूले कम्पनीलाई चेतावनी दिँदै भने, “हामीसँग भएको सहमति कार्यान्वयन नगरेसम्म कामकाज ठप्प पार्नेछौँ।”

श्रमिक जीवन मगरका अनुसार, कम्पनीले नेपाली श्रमिकहरूको मागलाई गम्भीरतासाथ नलिएको हो। उनले भने, “नेपालको श्रम ऐन, २०७४ अनुसार रोजगार सम्झौतापत्र र अन्य सुविधाका बारेमा १३ बुँदे माग राखेका थियौँ। कम्पनीसँग फागुन १६ गते सहमति भएको थियो, तर कार्यान्वयनमा उदासिनता देखाइयो।”

अर्का कामदार मदन कुमार श्रेष्ठले भने, “यदि सहमति कार्यान्वयन हुँदैन भने, कामकाज ठप्प पार्ने हाम्रो निर्णय जारी रहनेछ।”

श्रमिकहरूले कम्पनीसमक्ष विभिन्न मागहरू राखेका छन्, जसमा रोजगार सम्झौता, सेवासुविधा, दुर्घटना बीमा, चिकित्सा बीमा, सञ्चय कोष, चाडपर्व खर्च, वार्षिक तलव वृद्धि, र विभिन्न छुटीहरूको सुनिश्चितता माग गरिएको छ।

सिनो हाइड्रो कम्पनीले श्रमिकहरूको माग सम्बोधन नगरेको आरोप छ। हाल तामाकोशी पाँचौंमा ५०० भन्दा बढी श्रमिक कार्यरत छन्, जसमा ४०० जना नेपाली श्रमिक छन्।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ५ : ४४ बजे