काठमाडौं । नेपालको प्रतिष्ठित मिडिया कान्तिपुर पब्लिकेशन्स् लिमिटेड अन्तरगतको कान्तिपुर दैनिकका पत्रकार हरिहरसिंह राठौर रकम ठगी गर्ने कार्यमा संलग्न भएको पाइएको छ ।
हालै काठमाडौं जिल्ला अदालतले उनी चेक अनादर मुद्दामा संलग्न भएको पाइएपछि उनको ठगी काण्ड सार्वजनिक भएको हो ।
राठौर संचालक रहेको कम्पनी अल ईभेन्ट एण्ड मिडिया नेटवर्क प्रालिले विष्णु घिमिरेले संचालन गरेको फिल्म क्रु नेपालसँग भएको सम्झौता वापतको रकम भुक्तानीका क्रममा चेक अनादर गरेको तथ्य सार्वजनिक भएसँग उनको ठगी काण्ड बाहिर आएको हो ।
राठौरले जाजरकोटका केही स्थानीय तहका आकर्षक स्थानहरुको फोटोहरु ड्रोनबाट कैद गरी स्थानीय तहलाई हस्तान्तरण गर्नेभनी करिब १६ लाख बराबरको परियोजना फिल्म क्रु नेपालसँग सम्झौता गरेका थिए । १६ लाखमध्ये ५० प्रतिशत भुक्तानी फिल्म क्रु नेपाललाई गर्नुपर्ने सम्झौता भएपनि भुक्तानी नगरेपछि उनको ठगी धन्दा सार्वजनिक भएको हो ।
ललितपुरको गोदावरी नगरपालिका–४ बस्ने घिमिरेले जाजरकोटको भेरी नगरपालिका ३ बस्ने राठौरविरुद्ध २०८१ असारमा काठमाडौं जिल्ला अदालतमा दायर गरेको फिराद पत्रमाथि यही फागुन १९ गते न्यायाधीश रामप्रसाद शर्माको इजलासले चेक अनादर गरेको अन्तिम आदेशसहितको फैसला सुनाएसँगै राठौर दोषि देखिएपछि उनी ठगी धन्दामा रहेको देखिएको हो ।
‘सम्झौता अनुसारको एक रुपैंयाँ पनि राठौरले भुक्तानी गरेनन् । परियोजनाको काम गर्दाको खर्च सबै हामीले खल्तीबाटै हाल्यौं । उनले पालिकाबाट मोटो रकम असुली गरे तर सम्झौता कार्यान्वयन गरेनन् । रकम माग गर्दा भागेर हिंडे । हामीले कैद गरेका तस्विरहरु जाजरकोटका सम्बन्धित पालिकाहरुमा झुन्डिएका छन्, हाम्रो प्रमाण पालिकाका कार्यालयमा गएर अवलोकन गर्दा स्पष्ट देखिन्छ । तर राठौर पूर्ण रुपमा ठग रहेको हाम्रो ठ्म्याइ हो,’ फिल्म क्रु नेपालले भनेको छ ।
घिमिरेले संचालन गरेको फिल्म क्रु नेपाल र राठौरको अल ईभेन्ट एण्ड मिडिया नेटवर्क प्रालिले जाजरकोटको नलगाँड, जाजरकोट र सिम्टा नगरपालिकामा काम गर्दा लागेको यातायात, कर्मचारीको परिश्रमिक, होटल व्यवस्थापन लगायतका अतिरिक्त खर्च वापतको रकम भुक्तानी गर्दा राठौरले चेक अनादर गरेको खुलेको हो ।
घिमिरेले फिराद पत्रमा लेखेका छन्,‘दिनुपर्ने रकम निजले मिति २०७७।११।०९ गते एनआईसी एसीया बैंकको धादिङबेसी शाखामा रहेको अल ईभेन्ट एण्ड मिडिया नेटवर्क प्रालिको खाता नं.१४५४१५००२१५२५००२ को चेक नं। ००३७०९१६२७८२३०१ बाट रु १,७७,०००(अक्षरुपी एक लाख सत्तहत्तर हजार) रुपैयाको भुक्तानी हुने गरी दिईएको उक्त चेकको भुक्तानी रकम काठमाडौं, बबरमहलमा रहेको प्रभु बैंकको मुख्य शाखामा लिन जादा खातामा पर्याप्त रकम नभएकोले सन् २०२१।०२।२५, सन् २०२१।०७।२५,सन् २०२१।०७।२९ र सन् २०२१।०८।०३ मा चेक वाउन्स भयो । प्रतिवादीले तिर्नुपर्ने रकम मागेकोमा भुक्तानी गर्नु भनि चेक दिई चेक साट्न जादा चेक बाउन्स भई प्रतिवादीलाई सम्पर्क गरेर उक्त रकम दिनु भन्दा प्रतिवादीले रकम दिन्छु मात्र भनेका तर अहिलेसम्म नदिएकाले बाध्य भई यो नालेश गर्न आएको छु ।’
राठौरले दिएको चेक बाउन्स भएकाले पटक पटक फोन गरी पैसा दिनु भन्दा पैसा दिने कुरा मात्र गर्ने तर पैसा नदिई भेट्न आग्रह गर्दा समेत नभेट्ने गरेको घिमिरेले बताएका छन् । राठौरको वदमासीविरुद्ध आफू बाध्य भएर अदालत गएको समेत उनले जानकारी दिए ।
उनले विनिमेय अधिकार पत्र ऐन २०३४ को दफा ५४ बमोजिम वाणिज्य बैकले कर्जामा लिने अधिकतम व्याज दरबाट व्याज कायम गरी भरी भराउ हुने दिन सम्मको व्याज समेत भराई प्रतिवादीलाई विनिमेय अधिकार पत्र ऐन २०३४ को दफा १०७ (क) बमोजिम अधिकतम सजायको माग गरेका छन् ।
कान्तिपुर दैनिकको धादिङ संवाददाता भइ काम गरिसकेका राठौर हाल जाजरकोटबाट कान्तिपुर दैनिकमा रिर्पोटिङ गर्छन् । उनले धादिङमा रहँदा पनि स्थानीय क्रसर उद्योग, सरकारी कार्यालय साथै स्थानीय निकायहरुबाट अवैध रुपमा रकम असुली गर्दै आएको गुनासो आउने गरेको थियो ।
प्रतिक्रिया