रामेछाप । आदिवासी माझी समुदायले हरेक वर्ष गर्ने लदी अर्थात् नदी पूजा मंगलबार गरेका छन् ।
माझी समुदायले नदीसँग दैनिक सम्बन्ध जोडिएको नदीले क्षति नपुराओस् भनि हरेक वर्ष फागुन महिनाको तेस्रो मंगलबार नदी पूजा गर्ने गर्दछन् ।
रामेछाप, दोलखा तथा सिन्धुलीको तामाकोसी र सुनकोसी नदी किनारका माझी समुदायले आजैकै दिन सामूहिक रूपमा नदी पूजा गर्ने गर्दछन् । माझी समुदायले तामाकोसी र सुनकोसी नदीमा गएर नदी पूजा गरेका छन् ।
मन्थली नगरपालिका–८ गाईखुराका झिल्कबहादुर माझीका अनुसार माझीहरूले तामाकोसी नदी किनारमा छिनारी (मसान), मङ्गलादेवी र जलदेवीका नाममा पाठी, कुखुरालगायतको वली चढाएर लदी पूजा गरेका छन् ।
लदी पूजालाई माझी समुदायले सबैभन्दा ठुलो पूजा मान्दछन् । माझी समुदायको मुख्य पुख्र्यौली पेसा नदीमा डुङ्गा चलाउँदा र माछा मार्दा, दाउरा निकाल्दा कुनैपनि क्षति नहोस् भनि नदीलाई सम्झिएर पूजा गर्ने गरिएको उनले बताए ।
माझी समुदायको जीवन नै नदीसँग जोडिएकोले पितापुर्खाका पालादेखि नै लदी पूजा गरिँदै आएको गाइखुराका पुजारी समेत रहेका सेते माझी बताउँछन् ।
‘नदीलाई मामा र माझीलाई भाञ्जा भनिन्छ, लदी पूजा गरेर मामालाई हामीले सम्झिएको हो’, उनले भने ।
मंगलबार माझी समुदायले ‘छिनारी’ अर्थात् मसान र ‘लदी’ अर्थात् नदी पूजा गरेपछि मासुसँगै मुन (जाँड) खाएर नाचगान गरी रमाइलो गरेर भोज खाने गर्दछन् । मंगलबार राति अबेरसम्म नाचगान गर्ने उनीहरूले बुधवार फेरि नदीमै गएर बाधा फुकाएसँगै विधिवत् रूपमा लदी पूजा सकिन्छ ।
त्यसपछि बस्तीमा राँगो काटेर सामूहिक भोज गरिने गाइखुराकै ज्ञानबहादुर माझीले बताए । उनका अनुसार यो दुई दिन गाउँका मानिसहरू गाउँ छाडेर कतै जाँदैनन् ।
सबैजना सामूहिक भोजमा बस्छन् । कोही गाउँ छाडेर हिँड्यो भने उसलाई भाले र जाँड दण्ड सजाय गरिन्छ । यसले माझी समुदायमा सामूहिक भाव विकास गर्न सहयोग गरेको छ ।
नेपालका अधिकांश नदी किनारमा माझी समुदायको बसोबास रहेको छ । विगतमा नदी पार गर्ने डुङ्गा तार्नकै लागि नदी किनारमा बसेका माझीको पुल बनेपछि डुङ्गा तार्ने पेसा छुटेको छ ।
नेपालका ६८ जिल्लामा माझी समुदायको बसोबास रहेको तथ्याङ्क छ । त्यस मध्ये रामेछाप जिल्लामा माझी समुदायको सबैभन्दा बढी बसोबास रहेको छ ।
देशभरि माझी समुदायको जनसङ्ख्या करिब ८५ हजार रहेको छ । त्यस मध्ये २०७८ को जनगणना अनुसार रामेछापमा मात्रै माझीको जनसंख्या ६ हजार २ सय ८८ रहेको छ ।
प्रतिक्रिया