भैरहवा । रुपन्देहीको बेलहियामा अध्यागमन कार्यालय आफ्नै सुविधायुक्त भवनमा सञ्चालनमा आएको छ । मंगलबार एक कार्यक्रमकाबिच गृहमन्त्री रमेश लेखकले उक्त भवनको समुदघाटन गरेका छन् ।
भवनको उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले नाकामा बनेका पूर्वाधारहरुले रुपन्देहीको बेलहियालाई मुलुककै ठूलो नाकाका रुपमा स्थापित गरेको बताए ।
मुलुकका सीमा क्षेत्रमा १३ वटा अध्यागमन कार्यालय रहेको र ती कार्यालयले पर्यटकलाई सहज बनाएको भन्दै सेवाप्रवाह चुस्त हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘पछिल्ला दिनमा सबै ठाउँबाट पर्यटक आगमन राम्रो छ । यो ठाउँ बुद्ध जन्मभूमि भएकाले धार्मिक पयर्टकको सम्भाना छ । हामीले पर्यटनमैत्री वातावरण बनाइरहेका छौं, पर्यटक आगमनलाई व्यवस्थित गरिरहेका छौं,’ उनले थप भने,‘हाम्रो लक्ष्य पर्यटक आगमन वृद्धि गर्ने हो । पर्यटक बढ्दा यसले मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउँछ ।’
गृहमन्त्री लेखकले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरुले पर्यटक र आमसेवाग्राहीलाई नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्नुपर्ने बताएका बताए । उनले कर्मचारीहरुको व्यवहारले मुलुकको अवस्था बताउने भन्दै सचेत भएर राम्रो सौहार्दपूर्ण तरिकाले सेवा दिन आग्रह गरे ।
उनले कार्यालयहरुमा हुने व्यवहारबाट जनताले सुख पाए २० जनालाई राम्रो भन्ने तर एकजनाले पनि दुःख पाए त्यसले धेरैलाई नराम्रो प्रभाव पार्नसक्ने बताए ।
गृहमन्त्री लेखकले वर्तमान सरकार बनेको आठ महिना हुन लागेको र सरकारले समृद्धिलाई पछ्याइरहेको धारणा राखे ।
पछिल्लो समय मुलुकको अर्थतन्त्रमा राम्रा संकेतहरु देखा परेको उनकोे दावी छ । उनले सरकारका कामको निजी क्षेत्रबाट प्रशंसा भएको समेत जनाए ।
सोही कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले लुम्बिनीको प्रवेशद्वार भएकाले यहाँको सौन्दर्यकरणमा लागिपरेको जनाए ।
सीमा क्षेत्रको सडक लामो समय नबन्दा धुलोले स्थानीय र पर्यटकलाई हैरानी भएको उनको भनाई छ । उनले गौतमबुद्ध विमानस्थल पूर्णक्षमतामा चल्दा र लुम्बिनीको विकास हुँदा यसले पुरै देशको विकासमा प्रभाव पार्नसक्ने बताए ।
भ्याटसहित १० करोड २५ लाख लागतमा कार्यालय भवन निर्माण गरिएको हो । भगवती गौरीशंकर जेवीले निर्माण गरेको उक्त भवन बेसमेन्टसहित ६ तल्लाको छ ।
अपांगमैत्री र भूकम्प प्रतिरोधी रहेको यो कार्यालय भवनमा अग्नि नियन्त्रण उपकरण जडित छ । यहाँबाट विदेशी नागरिकलाई आगमन, प्रगामन, पर्यटक भिसा जारी र नविकरण गर्ने, एनआरएन भिषा जारी र नविकरण लगायतका काम हुँदै आएका छन् ।
प्रतिक्रिया