काठमाडौं । महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार पशुपति क्षेत्र विकास कोषको आयोजना गरिएको प्रभातफेरीमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीका साथमा मन्त्री पाण्डे बिहान पशुपतिनाथ मन्दिर पुगेका हुन् ।
प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागी भएका थिए । पशुपति क्षेत्र विकास कोषको आयोजना भएको प्रभातफेरीमा कोषका पदाधिकारी, संस्कृत विद्याश्रमका विद्यार्थी, गुरुवर्ग र स्थानीयको सहभागिता थियो ।
पशुपतिको मूलढोकाबाट सुरु भएको प्रभातफेरि पिंगलास्थान, गौशाला र जयबागेश्वरी हुँदै मन्दिर परिसर परिक्रमा गरी पुनः मन्दिरको मूलढोकामा नै पुगेर समापन भएको थियो ।
प्रभातफेरीपछि मन्दिर परिसरको निरीक्षण गर्दै मन्त्री पाण्डेले पशुपति पुग्ने भक्तजनहरूलाई सहज दर्शनको व्यवस्था मिलाउन कोषलाई निर्देशन दिए । महाशिवरात्रीको पूर्वसन्ध्याको सोमबारमा पशुपति मन्दिरमा दर्शनार्थीको घुइँचो थियो । दर्शनार्थीहरूलाई असुविधा नहोस् भनेर मन्त्री पाण्डे मूल मन्दिर परिक्रमा गरेर मात्र फर्किएका थिए ।
यसैबीच कोषले महाशिवरात्रिका लागि सबै तयारी पूरा भएको जानकारी दिएको छ । बुधबार (फागुन १४)गते परेको महाशिवरात्रीमा नेपाल र भारतलगायतका देशबाट साधुसन्तहरू आउने क्रम जारी छ। साधुसन्तका लागि खानेबस्ने सुविधाको प्रबन्ध गरिएको छ ।
शिवरात्रि (फाल्गुण कृष्ण चतुर्दशी)मा आउने साधुसन्तलाई धुनीका लागि आवश्यक सबै प्रबन्ध मिलाइएको छ । शिवरात्रीको भोलिपल्ट औँसीका दिनमा उनीहरूलाई दक्षिणासहित बिदा गरिनेछ ।
महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा मेला लाग्ने गर्दछ। पशुपति दर्शनका लागि मन्दिर पुग्ने भक्तजनहरूको सुविधाका लागि सम्पूर्ण तयारी पूरा गरिएको कोषले जानकारी दिएको छ ।
प्रतिक्रिया