काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित ‘जलविद्युत आयोजनाः लगानी, सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतको बजारको विकासको आवश्यकता औंल्याए।
घिसिङले जलविद्युत क्षेत्रलाई अघि बढाउन सम्बद्ध निकायहरूबाट थप पहल र कदम चाल्नुपर्ने महत्त्वपूर्ण कुरा बताएका थिए। उनले भने, “हाइड्रोपावरको मार्केटलाई अगाडि बढाउनु पर्छ,” र यसको लागि आवश्यक प्रोत्साहन र सहयोगको आवश्यकता रहेको बताए।
कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले जलविद्युत क्षेत्रको १५ खर्ब रुपैयाँको लगानीलाई अन्यौलमा रहेको भन्दै, सरकारले निर्धारित लक्ष्यहरू प्राप्त गर्न ६२ खर्ब रुपैयाँको लगानी आवश्यक भएको जानकारी दिए।
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले जलविद्युतको क्षेत्रमा चाँडो र सकारात्मक समाधानको आवश्यकता औंल्याए। उनले थपे, “समाधानका लागि सार्वजनिक लेखा समिति तयार छ।”
कार्यक्रममा नेपाली कांग्रेसका प्रखुक सचेतक श्याम कुमार घिमिरेले निजी क्षेत्रको योगदानलाई महत्त्वपूर्ण मान्दै त्यसलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष मुक्ति श्रेष्ठले आईपीओ सम्बन्धी विवाद र समस्याबारे जानकारी दिँदै भने, “आई.पि.ओ पूरै रोकिएको अवस्थामा छैन।”
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, सरकारी अधिकारीहरू र उर्जा क्षेत्रका प्राविधिक व्यक्तिहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया