काठमाडौं । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतले मधेश प्रदेशमा प्रदेश सरकारले विकास तथा परिवर्तनका लागि थुप्रै योजना कार्यान्वयन गर्न लागेको जानकारी दिएका छन् ।
आइतबार नेपाल रिपब्लिक मिडियाद्वारा ‘म नागरिक म बनाउँछु नेपाल’ अभियानअन्तर्गत जनकपुरधाममा आयोजना भएको बहस कार्यक्रममा विज्ञवक्ताका रूपमा सहभागी डा.राउतले जिज्ञासु विद्यार्थीहरूले गरेका फरकफरक प्रश्नका उत्तर दिनेक्रममा प्रदेशमा साक्षरता र कोडिङ आर्मी बनाउने अवधारणामा काम भइरहेको बताए ।
उनले सतवटै प्रदेशमध्ये निरक्षरता, गरीबी आदि दृष्टिले मधेश प्रदेश सबैभन्दा पिछडिएको प्रदेशमा गनिने गरेको हुँदा यसमा फड्को ल्याउन तीसहितका विभिन्न कार्यक्रम ल्याइएको स्पस्ट पार्दै ती आधारणाअन्तर्गत साक्षरता प्रतिशत वृद्धि गर्ने, प्लसटु उतीर्ण गरेका वा स्नातक पढ्दै गरेका दस हजारसम्मलाई कोडिङसम्बन्धी तीनचार महिनाको तालिम दिई काममा लगाउने, आइटी पार्क निर्माण गर्ने इक्वीवेसन सेन्टर र स्पेस सेन्टर नै स्थापना गर्नेगरी काम अघि बढाइएको जानकारी दिए ।
उनले भने, ‘पहाडमा कुनाकुनामा मधेशका अझ धनुषाका शिक्षक गएर पढाएका होलान्, हामीले जहिल्यै पनि धनुषा भनेको जनकपुर हो र जनकपुर विद्याको राजधानी अझ ज्ञानको भण्डार हो भन्नेमा गर्व गर्यौँ । तर, हामीले यस्तो भन्दाभन्दै यहाँको साक्षरतादर खस्क्यिो ।’ कर्णालीभन्दा पनि कमजोर मधेश प्रदेशको साक्षरता दर बढाउन सात वर्ष रहेको पूर्ववर्ती प्रदेश सरकारले सिन्कोसम्म नभाँचेको उनको गुनासो थियो ।
प्रदेशमा विद्यमान गरीबी र बेरोजगारीका कारण बहुआयामिक भएको उल्लेख गर्दै उनले यसका लागि सरकारसँगै नागरिक आफैँ पनि जिम्मेवार रहेको बताए । जनमत अध्यक्ष डा.राउतले साक्षरतादर नबढाउँदासम्म र रोजगारी दिने विषय नपढ्दासम्म बेरोजगारीका समस्या समाधान गर्न कठिन हुने उल्लेख गरे । उनले भने, ‘जुन पढाइले रोजगार दिन्छ, त्यो पढ्नुपर्यो । डिग्रीमात्र थन्कयाएर हुँदैन ।’
अध्यक्ष डा.राउतले फोहोर व्यवस्थापनको जिम्मा स्थानीय सरकारको भएकाले स्थानीय तहमा जनप्रतिनिधि चयन गर्दा विवेक पुर्याएर फोहोर व्यवस्थापन गर्नेलाई भोट दिनुपर्ने बताए । उनले पैसा, जाति, दलका कारण मत दिने प्रवृत्तिलाई त्यागेर राम्रो तथा प्रभावकारी काम गर्ने व्यक्तिलाई जनप्रतिनिधिका रूपमा छनोट गरे फोहोरजस्ता समस्या समाधान हुने प्रस्ट्याए । उनले फोहोर व्यवस्थापनका सन्दर्भमा नागरिकले आफ्नो मानसिकतामा समेत परिवर्तन ल्याउन जरुरी रहेको भन्दै आफ्ना घरअगाडि नाला जाम हुँदा वा अन्य किसिमले फोहोर थुप्रिँदा सङ्घीय सांसदलाई गुहार्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।
उनले भने, ‘हामी पनि जिम्मेवार नागरिक बन्नुपर्छ । सबैजना मिलेर फोहोर सफा गर्नुपर्छ ।’
अध्यक्ष राउतले जनकपुरधाममा क्रिकेटका लागि भव्य रामजानकी स्टेडियम निर्माण भइरहेको जानकारी दिए ।
प्रतिक्रिया