Logo

मुख्य समाचार

रवि लामिछानेसहित १५ जनाविरुद्ध सहकारी ठगीको मुद्दा दर्ता



चितवन । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा सहकारी ठगीको मुद्दा दर्ता भएको छ। यस मुद्दामा उनीसहित ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गर्ने र ठगी गर्ने आरोप लगाइएको छ।

चितवन जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता गर्नुपर्ने थियो तर सरकारी वकिल कार्यालयका व्यस्तताका कारण मंगलबार मुद्दा दर्ता गरिएको हो। सरकारी वकिल कार्यालयले रवि लामिछानेसहित १५ जना व्यक्तिहरू र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगमा मुद्दा दर्ता गरेको जानकारी दिएको छ।

यसअघि चितवन जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धानको क्रममा ढाँचामा त्रुटि पाएको कारण प्रहरीलाई फाइल फर्काएर पुनः अनुसन्धान गर्न भनेको थियो। प्रहरीको रिपोर्टले सहकारीबाट ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको उल्लेख गरेको छ। सहकारीबाट विभिन्न कम्पनीमा गएको रकम सहित ५६ करोड २२ लाख ५० हजार रुपैयाँ बिगो हुनुपर्ने राय प्रहरीको छ।

यसअघि पनि १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। रवि लामिछाने लगायत अन्य १२ जनाले संगठित अपराधमा समेत मुद्दा सामना गर्दैछन्।

रवि लामिछाने यसअघि कास्की, काठमाडौं र रुपन्देहीका सहकारी ठगी मुद्दामा धरौटीमा छुटेका थिए। चितवनको सहकारी ठगीपछि अहिले उनीविरुद्ध वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनमा पनि अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  २ : ३४ बजे