जनकपुर । मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले विपत्तका घटनाहरु प्रति जिम्मेवार रहेका निकायहरुको गम्भीरतापूर्वक ध्यान जानु पर्नेमा कमी देखिएको बताएका छन् ।
२७ औं भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा जनकपुरधाममा निकालिएको प्रभातफेरी कार्यक्रममा बोल्दै गृहमन्त्री लेखीले सुरक्षाको प्रश्नमा सरकारका सम्बन्धित सम्पूर्ण निकायहरुको गम्भीरतापूर्वक ध्यान जानुपर्नेमा कमी देखिएको बताएका हुन् ।
उनले प्रभावतफेरि कार्यक्रममा सहभागी सरोकारवाला निकायका पदाधिकारीको उपस्थित न्यून देखिएकोले आफू निराश भएको भावना व्यक्त गरे ।
उनले सुरक्षाको विषयमा आयोजित कार्यक्रम र घटनालाई समय दिन नसके समाज, प्रदेश र देशप्रति न्याय नहुने बताए । प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बजेट र समय खर्च गरेतापनि सहभागीहरुको कमी हुने गरेकामा निराशा व्यक्त गरे ।
गृहमन्त्री लेखीले सञ्चारमाध्यमहरुलाई पनि राजनितिक कार्यक्रमबाहेक सुरक्षा र सामाजिक घटनाहरुको समाचार सम्प्रेशनमा ध्यान दिन अनुरोध गरे । प्रभावतफेरी कार्यक्रममा धनुषा प्रहरी, प्रदेश प्रहरी, सशस्त्र प्रहरी बल, जनकपुरधाम उपमहानगरपालिका, जिल्ला समन्वय समिति धनुषा, लगायत अन्य सम्बन्धित निकायका पदाधिकारीको उपस्थित रहेको थियो ।
विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ ।
प्रतिक्रिया