काठमाडौं । निम्ता आएका प्राय सबैका कार्यक्रममा उपस्थित जनाउन नछुटाउने उपप्रधान एवम शहरी विकासमन्त्री प्रकाशमान सिंह वितेको एकसाता व्यस्त रहे । हरेका कार्यक्रममा उनले जनतामा आशा जगाउने मन्तब्य व्यक्त गर्न छुटाएनन् ।
केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारको प्रधानमन्त्री पछिको दोस्रो बरीयतामा रहेका सिंहले मन्त्री पदमा शपथ लिएदेखि भन्न नछुटाएको एउटा वाक्य हो–सरकार बनाउन मात्रै होइन, नतिजा दिनेगरी काम गर्न आएका हौं ।’
उनका आशा जगाउने यस्ता वाक्य वा शब्द जति प्रयोग भएपनि व्यवहारमा लागू नभएको पाइयो । मन्त्री बनेको १०० दिन पुरा भएको उपलक्ष्यमा उनले आफैंले कार्य विवरण जानकारी गराउँदै काम गर्न नसकेको स्वीकार्न भने छाडेनन् । मन्त्रीले गर्न चाँहे एकसय दिनभित्रै परिणाममूखी काम गर्न सक्छन् । तर मन्त्री सिंहले जम्मा १० वटा मात्र काम गरेको उनी निकटहरुको भनाइ छ ।
मन्त्री सिंहले धरहरा परिसरमा निर्मित मुख्य संरचनाहरू (धरहरा, बेसमेन्ट, पार्किङ, बगैंचा) ०८१ असोज ३ बाट लागि सर्वसाधारणका लागि खुला गरे । यसलाई आफ्नो उपलब्धि ठानेका छन् ।
यसैगरी वितेको चार महिनामा सातवटा स्वास्थ्य भवन निर्माण सम्पन्न भएको बताएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुम्बु, पाँचथर, लुङरुपा आयुर्वेद औषधालय पाँचथर, डडेल्धुरा उपक्षेत्रीय अस्पताल भवन, इसिबु स्वास्थ्य चौकी भवन , तेह्रथुमम, मारेकहटहरे स्वास्थ्य चौकी र मूर्तिढुङ्गा स्वास्थ्य चौकी धनकुटा र थोकलुङ स्वास्थ्य चौकी तेह्रथुमको निर्माण कार्य सम्पन्न भएका छन् ।
त्यस्तै जाजरकोट र रुकुम पूर्वको भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाको भवन पुनर्निर्माण सम्पन्न भएका छन् । भैंसेपाटीमा मन्त्री आवास निर्माण कार्य सम्पन्न भएको छ । १८ जना संघीय मन्त्री, राष्ट्रिय सभाको उपाध्यक्ष र जवान लाइनको ३ वटै भवनमा सुरक्षाकर्मी बसिसकेका छन् ।
सिंहकै कार्यकालमा दमक व्यापारिक कम्प्लेक्स, चितवन सौराहा सभाहलको भजन निर्माण कार्य सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालय भवनको पुनर्निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण भइसकेको छ ।
त्यस्तै २५ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भएको तथ्यांक सार्वजनिक भइसकेको छ । ५० वटा झोलुङ्गे पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा ४० वटा सम्पन्न भएको र १० वटा पुल निर्माण कार्य चालू अवस्थामा रहेको मन्त्री सिंहको सचिवालयले जनाएको छ ।
त्यस्तै पहुँच सुधारका लागि रणनीतिक रुपमा महत्वपूर्ण रहेको नेपालको सबैभन्दा लामो त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गे पुल सञ्चालनमा ल्याइएको छ । गोकर्णदेखि गुह्येश्वरीसम्मको ६ किलोमिटर क्षेत्रमा ढल व्यवस्थापन भएको, गोकर्णदेखि गुह्येश्वरीसम्म ढल मुक्त गराउने तयारी रहेको मन्त्रीले एक दिनकै उपलब्धिहरु सार्वजनिक गर्ने कार्यक्रममा बताइसकेका छन् । विगत केही दिनका उनका दैनिक गतिविधिहरु मन्तब्यमा केन्द्रीत भएका छन् ।
पुस महिनाको १ गते मन्त्री सिंह काठमाडौं महानगरपालिकाका प्रथम मेयर पीएल सिंहको श्रद्धाञ्जली कार्यक्रममा सहभागि भए । उनले उक्त श्रद्धाञ्जली कार्यक्रममा पीएल सिंहबाट सिक्ने भनेको विधिको शासन हो भन्न भ्याए ।
उनले भने, ‘प्रजातन्त्रको लागि उहाँले ठूलो योगदान गर्नु भएको छ । उहाँलाई हामीले चिनेको पनि त्यसरी नै हो । उहाँले आफ्नो जीवन नै प्रजातन्त्रको लागि समर्पित गर्नुभयो ।’ यस्तै, उनले सिंहबाट राज्य वा समाजलाई विधि अनुसार चलाउने कुरा सिक्नुपर्ने बताए ।
यसैगरी मन्त्री सिंह पुस ६ गते चन्द्रागिरी–चित्लाङ सडक अवलोकनमा गए । जता सहभागि भए पनि कामको समिक्षा नगर्ने उनी प्रधानमन्त्री जस्तै निर्देशन दिन पछाडि परेनन् ।
चन्द्रागिरी–चित्लाङ सडक अवलोकनमा पुगेका मन्त्री सिंहले छिटो काम सक्न निर्देशन दिएर फर्किँए । तर के कारण सडक बन्न सकेन त्यसको कारण बुझ्नुको सट्टा प्रधानमन्त्रीकै शैलीलाई कपी गर्दै त्यहाँबाट निर्देशन दिएर फर्किँए ।
उक्त अवलोकनमा सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताए । सिंहले राजनीतिक स्थीरताको जगमा विकास निर्माण र आर्थिक समृद्धिमार्फत जनताको अवस्था सुधार्न सरकारले काम गरिरहेको बताए ।
पछिल्लो निर्वाचनपछि बनेका सत्ता गठबन्धन लामो समय नटिक्दा जनतामा बढेको निराशा चिर्नका लागि अहिलेको सत्तागठबन्धन बनेको पनि उनले प्रष्ट पारे । राजनीतिक स्थीरता र स्थायीत्वका लागि अहिलेको सरकार बनेको र सरकारले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको उनले बताए ।
यसैगरी पुस ७ गते मन्त्री सिंह अन्नपूर्ण गाउँपालिका भदौरे ४ कास्कीमा आयोजित भदौरे पञ्चासे कोदो महोत्सव तथा ल्होसार मेलाको समापन समारोहमा पुगे । उक्त समारोहमा सम्बोधन गर्दै सिंहले स्थानीय मेला महोत्सवले अर्थतन्त्रमा टेवा पुर्याउने बताए ।
उनले मेला महोत्सवले स्थानीय उत्पादन प्रवद्र्धन र कला संस्कृतिको संरक्षणमा मेला महोत्सवको भूमिका महत्वपूर्ण रहेको बताए ।
‘हाम्रो गाउँठाउँमा जे छ त्यसलाई हामी सबै मिलेर सुखदुख बाँडेर जीवनलाई खुशी पार्नका लागि हामी लाग्नुपर्छ’ उपप्रधानमन्त्री सिंहले भने,‘ महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि आन्तरिक पर्यटक पनि पढ्छ । सकेसम्म विदेशी पाहुनालाई पनि आकिर्षत गर्न सकियो भने अझ राम्रो हुन्छ ।’ स्थानीय तहमा उत्पादित वस्तुको प्रदर्शन, प्रतिभाहरुको प्रष्फुटन र आफु्ना उत्पादनको सदुपयोग गर्ने बानी बनाउन पनि महोत्सवहरु हरेक पालिकामा मनाउन सके देशको अर्थतन्त्रमा टेवा पुग्ने बताए।
त्यस्तै, उनले सरकार नागरिकको जीवन सहज बनाउनका लागि लागिरहेको पनि जानकारी गारए ।
यसैगरी उनले पुस ८ गते नेपाली कांग्रेस एकसय दिने विशेष अभियान अन्तर्गत काठमाडौं महानगर स्तरीय भेलालाई सम्बोधन गरे । उक्त सम्बोधनमा उनले निर्वाचनको समयमा पार्टी जनता बाट अनुमोदित हुन नसके जतिसुकै कार्यक्रम गरे पनि परिणाम शुन्य नै आउने बताए । आफैं काम गर्नुको सट्टा कार्यक्रममा मात्र रमाइरहने मन्त्री सिंह कहिँले के बोल्नुपर्छ त्यो पनि उनलाई थाहा हुँदैन ।
कुनै कार्यक्रममा त उनले आफैंले भन्ने गरेका छन–‘यो कार्यक्रम के का लागि आयोजना गरिएको हो, मलाई पूर्ण ज्ञान छैन ।’
सोही पुस ८ गते नै उनी निजी क्षेत्रको साझेदारी र नवप्रवर्तनशील रणनीतिक कार्यक्रममा पुगे । जहाँ उनले निजी क्षेत्रसँग साझेदारी गर्न आवश्यक रहेको बताए ।
यसैगरी पुस ९ गते मन्त्री सिंह नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधनगर्न रूपन्देही पुगे । जहाँ उनले आर्थिक समृद्धिका लागि कांग्रेस सक्षम छ भनेर कांग्रेसको प्रशंसा गरे ।
यसैबीच मन्त्री सिंह पुस १२ गते भक्तपुरमा मध्यपुर महोत्सव उद्घाटन गर्न पुगे। जहाँ उनले मेला महोत्सवले देशको अर्थतन्त्रलाई सहयोग पुग्ने बताए । सिंहले मेला महोत्सवले देशको अर्थतन्त्रलाई लयमा ल्याउन प्रत्यक्ष रुपमा प्रभाव पार्ने बताए । मन्त्री सिंहको दैनिकी उदघाटन, अवलोकन, निर्देशन र मन्तब्यमा केन्द्रीत भएको देखिन्छ ।
प्रतिक्रिया