काठमाडौ । केडिया ग्रुपले नेपाल भलिबल लिग (एनभीएल) को लोगो र स्लोगान सार्वजनिक गरेको छ। मङ्गलबार एक विशेष समारोहमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा लिगको लोगो र स्लोगान सार्वजनिक गरिएको हो।
मन्त्री चौधरीले एनभीएलको लोगो अनावरण गरे भने, केडिया ग्रुपका अध्यक्ष विमल केडियाले र मन्त्री चौधरीले संयुक्त रूपमा ‘उचाईको नयाँ उडान’ नामक स्लोगान सार्वजनिक गरे। केडिया ग्रुपका निर्देशक अश्विन केडियाले भने कि स्लोगान नेपाल भलिबलको उचाईलाई नयाँ स्तरमा पुर्याउने लक्ष्यका साथ चयन गरिएको हो।
नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ को मार्च महिनामा सुरु हुनेछ। यस लिगमा देशभरका उत्कृष्ट भलिबल खेलाडीहरूको साथै अन्तर्राष्ट्रिय खेलाडीहरूको पनि सहभागिता रहनेछ। लिगले नेपाली भलिबललाई नयाँ अवसरहरू प्रदान गर्दै त्यसको स्तरलाई उच्च बनाउने उद्देश्य राखेको केडिया ग्रुपले जनाएको छ।
एनभीएलका एडमिन तथा अपरेसन हेड विकास खेतानले पहिलो संस्करणमा ६ टोलीको सहभागिता रहने जानकारी दिए। प्रत्येक टोलीमा ९ नेपाली र ३ विदेशी खेलाडी रहनेछन्। लिगको प्रारूप सिंगल राउण्ड रोविनमा आधारित हुनेछ र ९ दिनसम्म चल्ने यस लिगमा कुल १५ खेल हुनेछन्। लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ।
नेपाल भलिबल संघ र केडिया ग्रुपबीच गत जेठमा ७ वर्षको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। सम्झौताअनुसार, केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गर्नेछ।
कार्यक्रममा श्रीलंकामा भएको काभा पुरुष भलिबल प्रतियोगितामा रजत पदक जित्न सफल नेपाली यु–२० राष्ट्रिय टोलीका सदस्यलाई नगदसहित सम्मानित गरिएको थियो।
१२५ वर्ष पुरानो केडिया ग्रुपले आर्थिक, शैक्षिक, सामाजिक, आध्यात्मिक, स्वास्थ्य र खेलकुद लगायतका विभिन्न क्षेत्रहरूमा योगदान पुर्याउँदै आएको छ।
प्रतिक्रिया