काठमाडौं । पेरुको दक्षिणी क्षेत्रमा ६.७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा कम्तीमा दुईजना घाइते भएका छन् भने २२ वटा घर, ६ वटा स्वास्थ्य केन्द्र र एउटा विद्यालयमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् ।
स्थानीय समयअनुसार बिहीबार दिउँसो १ बजे गएको भूकम्पको केन्द्रविन्दु आयाकुचो क्षेत्रको पारिनाकोचास प्रान्तस्थित उपाहुआचो सहरबाट ३८ किलोमिटर उत्तर–पश्चिममा रहेको थियो । भूकम्प ६६.७ किलोमिटर गहिराइमा गएको थियो ।
भूकम्पको धक्का दक्षिणी पेरुका इका, अरेकिपालगायतका विभिन्न क्षेत्रमा महसुस गरिएको थियो । आयाकुचो र कुस्कोका विभिन्न जिल्लामा भौतिक संरचनामा क्षति पुगेको अधिकारीहरूले जनाएका छन् ।
भूकम्पबाट पुकियो, पुयो, कोराकोरा, उपाहुआचो, सान पेड्रो र पिचारीलगायतका क्षेत्रमा पनि असर परेको छ ।
पेरु प्रशान्त महासागर वरिपरि फैलिएको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले त्यहाँ भूकम्पीय गतिविधि उच्च रहने गर्छ । यस क्षेत्रमा पटक–पटक शक्तिशाली भूकम्प जाने गरेका छन् ।
यसअघि सन् २००७ मा इका क्षेत्रमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पमा करिब ६०० जनाको मृत्यु भएको थियो ।








प्रतिक्रिया