काठमाडौं, १९ डिसेम्बर ( नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन कोइमा बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन र लगानी विस्तारको उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झदारीपत्रमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान किमले बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा हस्ताक्षर गरेका हुन्।
कोइमा, दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र त्यहाँ उत्पादन नहुने सामानको आयातमा केन्द्रित संस्था हो। महासंघले विश्वास व्यक्त गरेको छ कि कोइमासँगको सहकार्यले नेपाली उत्पादनलाई कोरिया बजारमा विस्तार गर्न मद्दत पुर्याउने छ, जसले नेपाल र दक्षिण कोरियाबीचको व्यापार घाटा कम गर्न सघाउनेछ। हालको व्यापार घाटा करिब ७ अर्ब रुपैयाँ छ।
नेपालबाट हाल फेल्ट, गलैचा र धागो जस्ता परम्परागत सामानको निर्यात बढिरहेको सन्दर्भमा, कोइमासँगको सहकार्यले औद्योगिक कच्चा पदार्थ र अन्य समानका लागि नयाँ बजार खोल्न मद्दत पुग्ने विश्वास महासंघको छ।
समझदारीपत्रमा हस्ताक्षर गर्ने अवसरमा, महासंघ अध्यक्ष ढकालले नेपाल र कोरिया बीच आर्थिक सम्बन्ध सुदृढ गर्न ठूलो सम्भावना रहेको उल्लेख गरे। उनले नेपालका ऊर्जाशील युवा जनशक्ति, प्राकृतिक स्रोत र ठुला बजारसँगको नजिकताको कारण कोरियाली लगानीकर्तालाई नेपालमा लगानी गर्ने अवसरहरूको महत्व छ भने।
नेपाल सरकारको हालैका सुधारहरू र लगानीमैत्री वातावरण सिर्जना गर्ने कदमहरूको बारेमा जानकारी दिँदै ढकालले विदेशि लगानीको आकर्षणको लागि नेपालका अनुकूल आर्थिक सूचकाङ्क र क्रेडिट रेटिंगको बारेमा पनि धारणा प्रस्तुत गरे।
साथै, ढकालले कोरियाली व्यवसायीहरूलाई नेपालमा व्यापार र लगानीका अवसरहरू खोज्न आमन्त्रण गर्दै महासंघको विदेशी लगानी सहायता डेस्कमार्फत सहयोग गर्ने आश्वासन पनि दिए।
प्रतिक्रिया