Logo

मुख्य समाचार

फ्रि भिसा फ्रि टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भएका छन् : मन्त्री भण्डारी



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले फ्रि भिसा फ्रि टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भएको बताएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मलेसियामा ७ लाख नेपालीहरु वैदेशिक रोजगारीमा गए पनि १५ हजारले मात्र फ्रि भिसा फ्रि टिकट पाएको बताएका हुन् ।

उनले भने, ‘श्रम मन्त्रालयले ऐन र कानूनको आधारमा वैदेशिक रोजगारिमा जाने मानिसको श्रम स्वास्थ्य परिक्षण गर्नको निम्ती कानूनले व्यवस्था गरेको संस्था श्रम मन्त्रालयले दर्ता गर्छ । तर  कयौं ठूल ठूला अस्पताले चाँही यसमा काम गरिरहेका छन् । भोलि बदमासी भयो  भने श्रम मन्त्रालयले कसलाई कारवाही गर्ने रु मलेसियासँग नेपाल सरकारले फ्रि भिसा फ्रि टिकट भनेर एग्रीमेन्ट गर्यौं । अहिले मलेसियामा ७ लाख नेपाली काम गरिरहेका छन् । जम्मा १५ हजार मानिस मात्र फ्री भिसा फ्री टिकटबाट लाभान्वित भएका छन् । ’

साथै उनले सबै कुरा सरकारले मात्र हेर्न नसक्ने बताए । उनले फ्री भिसा फ्री टिकटको यर्थाथ निकाल्नुपर्ने बताए ।

‘यसको हामीले यर्थाथ निकाल्नुपर्छ । सबै सरकारले हेर्न सक्दैन तर यसमा कुनै कुरा रोजगार दाताले हेनुपर्छ भने कुनै श्रमिक आफैंले पनि  तिरेर जानुपर्छ ।’ उनले भने ।

उनले संसारभरीकै अप्रवासी श्रमिकहरुको मृत्युको सङ्ख्या हेर्दा श्रमको लागि नभएर युद्ध लड्नको लागि गएको जस्तो देखिएको बताए । श्रमिकहरुले मृत्युवरण गर्नुपर्ने अवस्थाको बारेमा खोजि गर्न आवश्यक रहेको भन्दै मन्त्री भण्डारीले यसको समाधानको लागि विभिन्न विज्ञ डाक्टरहरुबाट सुझाव संकलन गरिरहेकोे बताए ।

उनले भने,‘संसारभरीका अप्रवासी श्रमिकहरु जो आप्रवासनको क्रममा आफ्नो ज्यान गुमाएका छन् । हाम्रो डाटामा हेर्दा पनि विगत १६ वर्षमा  १४ हजार मानिसले त्यहाँबाट मृत्युवरण गरेको देखियो । हाम्रो श्रमिकहरु त्यहाँ युद्ध लड्न गएको त होईन नि श्रम गर्न गएका हुन् । तर किन त्यो अवस्था आइरहेको छ त्यो बारेमा खोजि गर्न आवश्यक छ । यसबाट हामीले कसरी बचाउँन सक्छौ भनेर विज्ञ डाक्टरहरुलाई जाने बेला देखि फर्केर आउने बेला सम्म स्वास्थ्यको ट्रयाकिङ कसरी गर्ने त्यसमा लागेको छौं ।’

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ३ : ५७ बजे