काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो ४०औं वार्षिक साधारणसभा सम्पन्न गर्दै १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बिहीबार बैंकको अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभा कार्यक्रममा, सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि, २०८0/ 0८१ आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरिएको हो।
समीक्षायोग्य वर्ष २०८०/0८१ मा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। यसैगरी, बैंकको निक्षेप दायित्वमा १६ दशमलव ४१ प्रतिशतको वृद्धि भई ४ खर्ब ६८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । जबकि कर्जा तथा सापटी १३ दशमलव ६५ प्रतिशतले वृद्धि भई ३ खर्ब ८५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। बैंकको कुल वासलातको आकार पनि १५ दशमलव ७६ प्रतिशतको वृद्धि सँग ५ खर्ब ५७ अर्ब ०२ करोड रुपैयाँ पुगेको छ।
साधारणसभामा सञ्चालक समितिका सदस्यका रूपमा अनन्त पौड्याल र प्रविन टिवडेवालालाई निर्विरोध निर्वाचित गरिएको छ। उनीहरू सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने पदमा निर्वाचित भएका हुन्।
अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले सभा सम्बोधन गर्दै बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर आफ्नो बैकिङ सेवा आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए। उनले सामाजिक उत्तरदायित्वमा पनि बैंक सक्रिय रहेको र सबै सरोकारवालाको अधिकार र चासोको सम्मान गर्दै काम गर्दै आएको जिकिर गरे।
प्रतिक्रिया