Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौँ ।  ग्लोबल आइएमई बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ।

साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा र पुँजी समायोजन कोषबाट ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ। यस बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्नेछ।

साधारणसभामा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकको वित्तीय स्थिति र आगामी योजनाबारे जानकारी दिएका थिए। एकीकृत वित्तीय विवरण अनुमोदनसँगै, बोनस शेयर वितरणपछि प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरिएको छ।

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो।

अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकद्वारा घोषणा गरिएका नीतिहरूको पूर्ण पालना गर्दै शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताएका छन्। साथै, बैंकले नयाँ व्यवसायिक क्षेत्रहरूमा सन्तुलित विस्तार गर्ने योजना समेत प्रस्तुत गरेको छ।

बैंकले “ग्लोबल फाइनान्स”को “बेष्ट बैंक अवार्ड २०२४” र “युरो मनी अवार्ड फर एक्सलेन्स २०२४” मा नेपालका उत्कृष्ट बैंकको रूपमा सम्मान प्राप्त गरेको छ। यसका अतिरिक्त, बैंकले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाबाट विशेष सम्मान पनि प्राप्त गरेको छ।

ग्लोबल आइएमई बैंक नेपालका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको पहिलो निजी वाणिज्य बैंक हो। बैंकका ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ सेवा र अन्य १,१०० भन्दा बढी सेवा केन्द्र मार्फत ग्राहकलाई सेवा पुर्याइरहेको छ।

बैंकले रेमिट्यान्स सेवा मार्फत नेपाली नागरिकलाई विश्वभर आर्थिक सेवा उपलब्ध गराउँदै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएको छ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ४ : ०३ बजे