Logo

मुख्य समाचार

बीआरआई सम्झौताबारे यथार्थ जानकारी गराउन माग



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारले चीनसँग गरेको बीआरआई सम्झौताबारे औपचारिक रुपमा जनतालाई जानकारी गराउनुपर्ने बताएका छन् ।

उनले नेपाल पक्षले ग्रान्ट फाइनान्सीङ कोअपरेसन राखेर सहमति गर्न चाहेको र चीनिया पक्षले संशोधन गरी एसिस्टेन्ट फाइनान्सीङ मोडालिटी बनाएको तर अन्तमा एड एसिस्टेन्स फाइनान्सीङ राखेर सहमति गरिएको भनिएको बीआरआई सम्झौताबारे जनतालाई यथार्थ जानकारी गराउनुपर्ने बताएका हुन् ।

मुलुकहरुबीच आवश्यक्ताअनुसार विभिन्न विषयमा सन्धिसम्झौता हुन सक्छ । सन्धिसम्झौता मुलुकको हितलाई मध्यनजर राखेरै गरिएको हुन्छ तर कहिलेकाही सन्धिसम्झौताको परिणाम अपेक्षीत हुँदैन भने कहिलेकाही प्रत्युत्पादकसमेत बन्न जाने उनको भनाइ छ ।

बस्नेतले भने, ‘नेपालसँग आजसम्म भए गरेका अधिकांश सन्धिसम्झौताप्रति जनताको धारणा सकारात्मक बनेको देखिदैन । सन्धिसम्झौताकै कारण मुलुक अमूक शक्ति राष्ट्रको पञ्जामा पर्ने, राजनीतिक रुपमा ध्रुवीकरणहरु बन्ने तथा बदलिने, आन्तरिक रुपमा दलहरु विभाजन हुनेसम्मका घटना हुने गरेका छन् । शासकहरुले देश र जनतालाई केन्द्रविन्दुमा राखेर भन्दा आफ्नो सत्तास्वार्थलाई केन्द्रविन्दु राखेर सन्धिसम्झौता र निर्णय गर्ने गरेका कारण विभिन्न घटना, परिघटना, प्रश्न, संशय, शंकाउपशंका उब्जने गरेका छन् ।’

सन्धिसम्झौता देशका लागि कति फलदायी र हितकर छ भन्ने कुरा आम नागरिक भएर गरेको अनुभव, अनुभूति, भोगाइ, समीक्षा र विश्लेषणबाट थाहा हुने उनको धारणा छ । चीनसँग भएको बीआरआई सम्झौता उपयुक्त भएनभएकोबारे सार्वभौम संसदमा छलफल गरिनुपर्ने र जनताका लागि गरिएका भनिएका सन्धिसम्झौतालाई जनताबाट नै अनुमोदन गर्नुपर्ने कुरामा उनले जोड दिए । 

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ८ : २३ बजे