Logo

खेलकुद

लिग वानमा रेनेस विजयी


१० कार्तिक २०८१, शनिबार  

0
Shares

काठमाडौं । फ्रेन्च लिग वानमा रेनेसले ली हाभ्रमाथि १–० गोल अन्तरको जीत दर्ता गरेको छ । जारी सिजनमा रेनेसको तेस्रो जीत हो । खेलको निर्णायक गोल आन्द्रेस गोमेजले ५४ औं मिनेटमा गरेका थिए ।

यो हारसँगै डिडिएर डिगार्डको टोली ली हाभ्रले लगातार छ खेलमा पराजय बेहोरेको छ । रेन्नेसका प्रशिक्षक जुलियन स्टेफनले आफ्ना पुराना ३–४–३ रणनीतिलाई परिवर्तन गर्दै आक्रमक शैलीको ४–३–३ फर्मेसनमा खेलाएका थिए ।

जसमा पूर्व सेल्टिक स्टार जोटाले बाँया विङ्गमा सुरुआती स्थान पाएका थिए । रेन्नेसले खेलको सुरुमै विपक्षी क्षेत्रको नियन्त्रण गर्दै खेलमा दबाब बनाएको थियो । मिडफिल्डर लुडोभिक ब्लासले केही उत्कृष्ट प्रयासहरू गरे । तर ली हाभ्रका गोलरक्षक आर्थर डेस्मासले दुई पटक बचाउ गर्दै सम्भावित खतरा टारेका थिए ।

पहिलो हाफको अन्त्यतिर डेस्मासले क्लियर गर्ने क्रममा त्रुटि गरेपछि जोटाले उक्त अवसर सदुपयोग गर्ने मौका पाए तर उनको प्रहार कमजोर रह्यो । पूर्व स्वान्सी र मार्सेइल स्ट्राइकर आन्द्रे आयुबाट आएको हेडर बाहेक ले हाभ्रको आक्रमण खासै प्रभावकारी देखिएन ।

दोस्रो हाफको सुरुमै रेन्नेसले आफ्नो आक्रमणलाई थप आक्रामक बनाउँदै खेललाई पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो । एड्रियन ट्रुफर्टको आएको क्रसलाई आन्द्रेस गोमेजले सुन्दर प्रहार गर्दै ५४ औं मिनेटमा गोल गरेका थिए ।

इन्जुरी समयमा स्थिति थप तनावपूर्ण बन्यो, जहाँ ली हाभ्रका डिफेन्डर क्रिस्टोफर ओपेरीले दोस्रो पहेँलो कार्ड (रातो) पाएर मैदान बाहिर निस्किए । यो जितसँगै रेन्नेस लिग वानको अंक तालिकामा आठौं स्थानमा उक्लिएको छ । पराजित भएको ली हाभ्र १६ औं स्थानमा छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  १० : २० बजे