Logo

Breaking News 1

इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी


८ कार्तिक २०८१, बिहिबार  

0
Shares

काठमाडौं । इजरायली रक्षा मन्त्री योआव गालान्टले इरानमाथि हुने योजनाबद्ध हवाई आक्रमणले संसारलाई इजरायलको सैन्य शक्तिको हैसियत देखाउने बताएका छन् ।

इजरायलले हिजबुल्लाहका नेता हसन नसरल्लाहको हत्या गरेपछि इरानले अक्टोबर १ मा इजरायलमाथि गरेको मिसाइल आक्रमणको जवाफस्वरूप इजरायलले इरानमाथि कडा आक्रमणको तयारी गरेको छ ।

गालान्टले बुधबार हत्जरिम एयरबेसमा हवाई दलसँग भेटघाट गर्दै, इरानमाथि आक्रमणपछि इजरायल र अरूले इजरायली सेना कस्तो तयारीमा रहेको बुझेका हुने बताएका छन् ।

उनले एक्समा पनि सैनिकहरूको तयारी र प्रशिक्षणको बारेमा चर्चा गर्दै इजरायललाई नोक्सान पु¥याउने कुनै पनि शत्रुले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

यसैबीच, इजरायल र अमेरिका बीच इरानका कुन क्षेत्रलाई निशाना बनाउने भन्ने विषयमा छलफल भइरहेको छ, जसमा अमेरिकाले इरानको तेल उद्योग र आणविक कार्यक्रममाथि हमला नगर्न आग्रह गरेको छ ।

इजरायलले लेबनानमा समेत हवाई आक्रमण जारी राखेको छ, जहाँ हालै हिजबुल्लाहका उच्च नेता हाशेम सफिउद्दीनको मृत्यु भएपछि संगठनको नेतृत्व संकटमा परेको छ ।

इजरायलले दक्षिणी लेबनानको टायर सहरमा समेत हवाई आक्रमण गरेको छ, जसले हजारौं विस्थापित परिवारहरूलाई थप संकटमा पारिरहेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  १० : २४ बजे