Logo

Breaking News 1

महागौरी र नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै


२५ आश्विन २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । 

महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन् । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । 

महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा हुन्छिन् भनी पुराणलगायत विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको हो । 

दोस्रो दिन असोज १८ गते शुक्रबार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन असोज १९ गते शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । 

चौथो दिन चौथो दिन आइतबार र पाँचौँ दिन सोमबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । पाँचौं दिन पनि सूर्योदयकालमा चौथी तिथि वृद्धि भएकाले कुष्माण्डा देवीको पूजा आराधना गरिएको हो । 

यसवर्ष नवरात्रको छैटौँ दिन परेको आश्विन शुक्ल पञ्चमीका अवसरमा मंगलबार स्कन्दमाताको पूजा आराधना गरिएको थियो । आश्विन शुक्ल षष्ठीका दिन बुधबार कात्यायनी देवीको पूजा आराधना गरियो । आश्विन शुक्ल सप्तमीका दिन बिहीबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । यसै दिन दसैँ घर वा पूजा कोठामा फूलपाती पनि भित्र्याइएको थियो । 

आश्विन शुक्ल अष्टमीका दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती,  श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । 

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । 

यसैबीच, आश्विन शुक्ल नवमी अर्थात् महानवमी पर्व पनि आजै मनाइँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । 

पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि छ । 

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ८ : २३ बजे