Logo

मुख्य समाचार

विशेष सचिवालय बैठकको निर्णय


२४ आश्विन २०८१, बिहिबार  

161
Shares

काठमाडौं । नेकपा एमालेले लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले समाजमा निराशा, नकारात्मकता, विद्वेष फैलाउने प्रवृत्ति देखापरेको निष्कर्ष निकालेको छ ।

देश बनिरहेको छ भन्ने सकारात्मक सन्देशसहित लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई आह्वान गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले बाढीपहिरोबाट प्रभावितको पुनःस्थापना, राहत र खोजी बाँकी भएकाले सम्पूर्ण जनसंगठन, कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयंसेवी भूमिकासहित सहयोगमा निरन्तर लागिरहन आग्रह गरेको छ ।

सचिवालय बैठकले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि कात्तिक २२ गतेसम्म तल्ला कमिटीले आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाउन र उपनिर्वाचनमा सक्रिय रूपमा परिचालन गर्ने व्यवस्था प्रदेश कमिटीले गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीको स्थायी भवन कीर्तिपुर नगरपालिका वडा नम्बर २ मा निर्माण गर्ने निर्णय समेत गरेको छ । शुक्रबार १२ बजेर २५ मिनेटमा पार्टी कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको उपमहासचिव ज्ञवालीले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ४ : १९ बजे