काठमाडौँ । आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय समितिको बैठकले विभिन्न निर्णयहरु गरेको छ । आइतबार भर्चुअल माध्यममार्फत बसेको बैठकले असोज २५ मा एनआरएनए डे मनाउनुका साथै हालैको अविरल वर्षापछिको बाढी पहिरोबाट प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ ।
बैठकले संघभित्रको आफ्नोतर्फको गतिविधिलाई सशक्त बनाउने, एनसीसीहरुसँग समन्वय बढाउँदै लैजाने, एकताबद्ध एनआरएनए बनाउन पहलकदमी लिनेजस्ता निर्णय पनि गरेको छ । पूर्वअध्यक्षहरु, पदाधिकारी, सल्लाहकार एवम् अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्यहरू सहभागी बैठकमा अध्यक्ष आरके शर्माले ४ वटा एजेन्डा प्रस्तुत गरेका थिए ।
जसअनुसार सर्वोच्च अदालतमा दायर मुद्दाका साथै, एनआरएनए डे मनाउने, बाढी पहिरो पीडितलाई सहयोग गर्ने र विविध विषयमा एजेन्डा अध्यक्षबाट पेस भएको महासचिव बुद्धि सुवेदीले जानकारी दिए ।
सोही एजेण्डामाथि बैठकमा छलफल भएपनि अक्टोबर ११ मा भव्यताका साथ एनआरएनए डे मनाउने निर्णय भएको जानकारी दिँदै उनले नेपालमा हुनेले भौतिकरुपमा उपस्थित भएर मनाउने र नेपाल बाहिर हुनेले सो दिनको ४ देखि ६ बजेसम्म भर्चुअल कार्यक्रम गरेर मनाउने तय भएको बताए । देश शोकमा भएकाले अघिल्ला बर्षको जस्तो ताम झाम गरेर नमनाउने अध्यक्ष शर्माले बताए ।
बैठकमा अध्यक्ष शर्माले परराष्ट्रमन्त्रीसहितलाई बोलाएर भव्यताका साथ कार्यक्रम गर्न तयारी गर्न नेपालमा रहेका कार्यसमिति सदस्यहरुलाई आग्रह गरे । सोअनुसार सम्बन्धितलाई पत्राचार गरेर उनीहरूको सहभागिता सुनिश्चित गराउन उनले सम्बन्धित पदाधिकारीहरूलाई आग्रह गरे ।
यस्तै हालै गएको बाढी पहिरोबाट प्रभावितका लागि सहयोग सङ्कलन गरेर हस्तान्तरण गर्ने निर्णय हुँदा राहत पनि दीर्घकालीन हितलाई मध्यनजर गरेर वितरण गरिने बैठकको निष्कर्ष छ । त्यसका लागि रकम संकलन गर्ने र छिट्टै हस्तान्तरण गर्नेगरी तयारी भएको छ ।
प्रतिक्रिया