Logo

खेलकुद

विश्व कराते च्याम्पियनसिपमा एरिकाले खेल्ने



काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङले १३ औं विश्व कराते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा हुने प्रतियोगितामा नेपालबाट सहभागी हुने एरिका एक्ली खेलाडी हुन् ।

प्रतियोगितामा सहभागी हुने एरिकासहित ४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले शुक्रबार एक कार्यक्रमबीच बिदाई गरे । सोही अवसरमा जितेन्द्रमान गुरुङ र विशाल चौलागाईंले प्रायोजन गरेको किट्स र ट्रयाकसुट पनि टोलीलाई हस्तान्तरण गरिएको थियो । टोली शनिबार प्रस्थान गर्ने छ ।

एरिकाले यु–२१ उमेरसमूहको महिला ६८ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन् । एरिकाको खेल असोज २३ मै छ । यो स्पर्धाको सेमिफाइनल र फाइनल असोज २७ गते हुनेछ । क्याडेट र जुनियरको पनि प्रतिस्पर्धा हुने प्रतियोगितामा १ सय १३ राष्ट्रका १ हजार ९ सय ९५ खेलाडीको सहभागिता रहने टोलीका प्रशिक्षक समेत रहेका १० औं दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्णधारी कुशल श्रेष्ठले जनाएका छन् । अफिसियलमा तारा गुरुङ र सन्तोष श्रेष्ठ रहेका छन् ।

एरिकाको यो समग्रमा छैटौं अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । विगतका पाँचै अन्तर्राष्ट्रिय प्रतियोगितामा एरिकाले नेपाललाई समग्रमा ८ पदक दिलाएकी छन् । त्यसमा ४ स्वर्ण, ३ रजत र १ कांस्य छ । एरिकाले यो सफलता १ वर्षको छोटो अवधिमा हासिल गरेकी छन् ।

एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पिन्सिपमा स्वर्ण र कांस्य जितेकी थिइन् । विदेशमै गएर खेलेको एरिकाको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

त्यस्तै, एरिकाले १९ औं एसियाली खेलकुदमा रजत, अमेरिकाको टेक्सासमा भएको युएस ओपन करातेमा स्वर्ण र रजत, भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा २ स्वर्ण र चीनको हाङझावमा भएको २० औं एसियाली सिनियर कराते च्याम्पिन्सिपमा रजत जितेकी छन् ।

एसियाली खेलकुद र एसियाली सिनियर करातेमा एरिकाले जितेको रजत नेपाली करातेको इतिहासमा हालसम्म कुनैपनि खेलाडीले जित्न सकेका छैनन् । एरिकाले यि सबै प्रतियोगितामा पदक जित्दा कुशलनै प्रशिक्षकको भूमिकामा थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १० : ३७ बजे