Logo

Breaking News 1

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छ : प्रचण्ड


१८ आश्विन २०८१, शुक्रबार  

46
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उनले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित वस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिंदै आएको बताए ।

अहिले पहाडी क्षेत्रमा पहिरो र तराई तथा सहरी क्षेत्रमा बाढी डुबानको सबैभन्दा बढी जोखिम अव्यवस्थित वस्ती र पूर्वाधारकै कारण देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले बाढी, पहिरो, डुबान, भूकम्पलगायत सबैखाले विपतबाट बच्न भौगर्भिक अध्ययनका आधारमा मात्र वस्ती विकास र पूर्वाधार निर्माण गर्न उपयुक्त हुने उल्लेख गरे ।

त्यसका लागि पार्टीको विपत् व्यवस्थापन विभागको पहलमा विज्ञहरुले तयार पारेको प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्री हुने उल्लेख गर्दै उनले यसका आधारमा चाँडै सरकारलाई ज्ञापनपत्र दिने पनि जानकारी दिए । वैज्ञानिक वस्ती विकास र पूर्वाधार निर्माणसँगै विपत् व्यवस्थापनका लागि सन्दर्भमा पनि गतिलो समीक्षा गरेर प्रतिकार्यका योजना बनाउनुपर्ने उनले बताए ।

मौसमको पूर्वानुमान हुँदाहुँदै पनि राज्यसंयन्त्रको केन्द्र राजधानीमा समेत तत्काल उद्धार गर्न गर्न नसक्नुको कारण खोजी गरेर आगामी दिनमा यस्तो अवस्था आउन नदिन सरकार योजनाबद्धरुपमा अघि बढ्नुपर्ने उनको भनाइ छ । अध्यक्ष प्रचण्डले उद्धार मात्र होइन, राहत र पुनर्स्थापनामा पनि अपेक्षित काम हुन नसकेको उल्लेख गर्दै सबै संयन्त्रहरु कसरी प्रभावकारीरुपमा परिचालन गर्ने भनेर सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १० : ०५ बजे