Logo

खेलकुद

ओमानविरुद्ध नेपालको फराकिलो जित



काठमाडौं । क्यानडामा भइरहेको त्रिपक्षीय टी–२० शृङ्खला अन्तरगत ओमानसँग भएको खेलमा नेपालले फराकिलो जित हात पारेको छ । क्यानडाको किङ सिटीमा भएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो ।

नेपालको जितमा गुल्सन झाले अलराउण्ड प्रदर्शन महत्त्वपूर्ण साबित भयो । गुल्सन म्यान अफ दि म्याच बनेका छन् । आठ खेलपछि नेपालको यो पहिलो जित हो ।

नेपालले दिएको १७७ रनको जवाफमा ब्याटिङमा गरेको ओमान ५ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १३९ रनमा सीमित भएको हो ।

नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। यसैगरी, झाले २.१ ओभरमा १४ रन खर्चेर २ तथा सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए। कुशल भुर्तेलले २ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले २ ओभरमा २ रन खर्चेर १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७६ रनको योगफल खडा गरेको थियो । झाले अविजित रहँदै १७ बलमा ४० रनको विस्फोटक पारीलाई ऐरीले ५ बलमा १८ रन जोडेर साथ दिएका थिए ।

नेपालका कुशल मल्लले ३० तथा अनिल शाह र आसिफ सेखले समान २७ रनको योगदान गरे ।

यस्तै ओमानका अकिब इलियासले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिएका थिए । ओमानका सोहेब खानले सर्वाधिक ४५ रनको योगदान गरे। यसैगरी, रफुलाले १२ बलमा ३३ तथा फ्रेयज बटले अविजित रहँदै ६ बलमा १७ रन जोडे ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ८ : ०७ बजे