Logo

मुख्य समाचार

संस्कृती, पर्यटन र हवाइ नीतिमा सामूहिक परिवर्तन हुन्छ : मन्त्री पाण्डे



काठमाडौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संसदको हिउदे अधिवेशन सञ्चालन हुनुभन्दा पहिला नीतिहरुलाई अन्तिम रुप दिने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल पर्वतारोहण संघको ३४ औँ वार्षिक साधारण सभा उदघाटन कार्यक्रममा उनले संस्कृती, पर्यटन र नागरिक उड्डयानसँग सम्बन्धित ऐनहरु संसदभित्र छलफलमा रहेको भन्दै अधिवेशन अगाडि ती ऐनहरुलाई अन्तिम रुप दिने बताएका हुन् ।

उनले भने, ‘संसदको अधिवेशन सञ्चालन हुनुभन्दा पहिला नै हामी नीतिहरुलाई अन्तिम रुप दिने काम सक्नेछौं । हिउदे अधिवेशनमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका अधिक्तम ऐनहरु र निर्देशिका बनाउने दिशामा अग्रसर छौं । ऐनहरु समयमै आएभने कानूनी राज्यलाई स्थापित गर्न सक्नेछौ । अहिले संसदभित्र मन्त्रालयसँग सम्बन्धित विभिन्न छलफलहरु हुने गरेका छन् । ती छलफल र प्रश्नको जवाफ दिने बचनबद्ध पनि गर्दछु ।’

यसको साथै उनले संस्कृती नीति, पर्यटन नीति र हवाइ नीतिमा सामूहिक परिवर्तन गर्न खोजिरहेको भन्दै यसबाट नेपालको आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउन सकिने बताए ।

उनले भने, ‘संस्कृती नीति, पर्यटन नीति र हवाइ नीतिमा सामूहिक परिवर्तन गर्न खोजिरहेका छौ । नेपाल एरलाइन्सलाई कसरी सुधार गर्ने र सुरक्षाको हिसाबले नेपालको आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउनुपर्ने हाम्रो दायित्व छ । नेपाल एरलाइन्सलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरामा गम्भीर छौं । नीजि क्षेत्रको भूमिका जति गतिशिल हुन्छ, त्यती नै यो मन्त्रालयले टेवा प्राप्त गर्छ ।’

उनले पर्वतारोहण संघको भूमिका नखुम्चाइ, थप सिर्जनशिल, गतिशिल र पर्वतारोहणमा अझ थप योगदान गर्ने संस्थाका रुपमा विकसित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

यस्तै, अहिले एकले अर्काको खुट्टा तान्ने होइन सहकार्यमा काम गर्ने समय आएको भन्दै काङ्ग्रेस–एमाले एक ठाँउमा आउनुको मूल मर्म पनि यही नै रहेको उनको भनाई छ ।

उनले भने, ‘अहिले एकले अर्काको खुट्टा तान्ने समय होइन, सहकार्यमा काम गर्ने समय हो ।सबै मिलेर पहिला देश बचाउ, त्यसपछि मात्र राजनीति, व्यवसाय सबै बचाउन सकिन्छ । त्यसपछि बल्ल प्रतिस्पर्धा गर्न सक्छौ । काङ्ग्रेस–एमाले मूल प्रतिस्पर्धी एक ठाँउमा आउनुको मर्म सबै वर्गले बुझेर एकताको बाटोबाट ८४ सम्म नेपाललाई एउटा गति दिने काम गर्नुपर्छ ।’

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ३ : २४ बजे