Logo

विशेष

खहरे खोला मासेर ढलान बाटो



काठमाडौं । भनिन्छ नि प्रकृतिलाई धेरै चलायो भने कुनै न कुनै दिन त्यहि प्रकृति आफ्नो बाटोमा हिड्छ अनि त्यसले मानव सृजित विकासलाई नराम्रो असर गर्छ । त्यहि बुझाइले गर्दा आज विकसित देशहरु सकेसम्म प्रकृतिलाई जोगाएर विकास गर्न तल्लीन छन् र त्यहि कारण प्राकृतिक प्रकोपबाट कम क्षति भोग्छन् ।

त्यसको ठीक विपरित हामी विकाशील राष्ट्रहरु आजको फाइदा हेरेर नियम कानुनलाई सकेसम्म छलेर बल जफति क्षणिक लाभको लागि जताततै प्रकृतिमाथी अतिक्रमण गर्न तल्लिन छौँ । यस्ता प्रकृतिमाथी अन्याय गरिएका घटनाहरु खोज्न टाढा जान नपर्ने भइसकेको छ किनकि यस्ता घटना जताततै छरपस्ट छन् ।

नियम कानुन बनाउने, पालना गराउने वा कार्यान्वयन गराउनेहरु निदाउँदा वा बेलैमा सजग नहुँदा भोलीका पुस्ताहरु समेत धेरै पिडित हुने निश्चित छ ।

कीर्तिपुर नगरपालिकाको भस्मासुर डाडाँ जहाँबाट हरेक बर्षमा २/३ वटा खहरे खोला बग्छन् । खहरे खोला कत्रो बग्छ भन्ने कत्रो पानी पर्छ भन्नेमा निर्भर हुन्छ । ती खहरे खोलामध्ये चुनपहरो वनबाट तल झर्ने खहरेखोलामा अहिले अनाधिकृत प्लटिङको चपेटामा परेर धमाधम ढलान हुने क्रममा छ । अबको केहि दिनमा उक्त ठाउँमा खहरे खोला बग्दथ्यो भन्ने कुरा ढलान मुनिको इतिहास बन्दैछ ।

नेपाल सरकारको नियम अनुसार पनि खहरे खोला, कुलो कुलेसा, राजकुलो आदिको संरक्षणका लागि मापदण्ड बनेका छन् तर जब ठूलो लगानीको माटोको व्यापार हुन्छ त्यहाँ यस्ता मापदण्ड बलमिच्याइमा पर्छन् ।

नेपाल सरकार तथा स्थानीय तह सबैले के कस्ता ठाउँमा जग्गा खण्डीकरण गर्न पाउने ? त्यो जग्गा खण्डीकरण गर्दा भविष्यमा हुन सक्ने भूक्षय तथा बाढी कति सम्बोधन गरिएको छ ? त्यो खण्डीकृत जग्गामा भविष्यमा घर बनाएर बस्नेहरुको सम्पति र जीवन भूक्षयको चपेटामा पर्न सक्छ सक्दैन ? त्यो जग्गासम्म जम्मा जाने बाटो के कस्तो र कसरी उपलब्ध छ आदि सबै अध्ययन गरेर स्वीकृत गर्नुपर्ने व्यवहारिक बुझाइलाई समेत यहाँ लत्याइएको स्थानीय बताउछन्।

व्यपारीले जसरी हुन्छ जग्गाको व्यापार गर्छ, फाइदा लिन्छ, जान्छ अनि अन्ततोगत्वा विपत्ति, क्षति भोग्ने स्थानीय हुन्छन् की पैसा तिरेर सपनाको घर बनाउन हिनेका हुन्छन् ।

सामाजिक सञ्जाल तथा टेलिभिजनहरुमा समेत छरपष्ट भइसकेको यो अनियमित कामको सम्पूर्ण प्रक्रिया कानुन सम्मत छ छैन ? भविष्यमा यसले के कस्तो अवस्था सिर्जना गर्न सक्छ तथा महत्वपूर्ण रुपमा खहरे खोला मासेर व्यापारी पोष्ने काम के कति जायज र कानुन सम्मत छ त्यसमा सम्बन्धित निकायहरुको ध्यान जान जरुरी छ ।

यस्ता घटनाहरुमा आवाज उठाउने सर्वसाधरण तथा स्थानीय वासिन्दाहरुको व्यक्तिगत सुरक्षामा समेत सम्बन्धित निकायहरुले ध्यान दिन आवश्यक छ ।

साथै, युवा शक्तिलाई पैसाको प्रलोभनमा पारेर दुरुपयोग गर्नेकाम पनि जग्गा व्यापार गर्ने पक्षले बन्द गर्नु आवश्यक छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ३ : २० बजे