Logo

मुख्य समाचार

चियामै भविष्य देखेका युवा भन्छन : सरकारको सहयोग पाए विदेश जानु पर्दैन्



काठमाडौं । पहाडी जिल्लामा उत्पादन हुने अर्थोडक्स चियाको बजारीकरण र प्रवद्र्धनमा सरोकारवालाहरुले साथ दिए स्वदेशमै आत्मनिर्भर हुन सकिने युवा चिया उद्यमीहरुले बताएका छन् ।

काठमाडौं ठमेलमा रहेको छाँया सेन्टरमा हालै आयोजना गरिएको ‘चिया प्रतिस्पर्धा’मा सहभागी युवा उद्यमीहरुले चियाबाटै आत्मनिर्भर बन्न सकिने भएकाले विदेशिनु नपर्ने बताएका हुन् ।

टी स्टेसन इन्कका अध्यक्ष एवम चिया उद्यमी प्रज्वल प्रधानले नेपालको चियालाई नेपालकै बजारमा विस्तार गर्न र चियालाई संस्कृतिका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याउँदै विश्व बजारमा नेपाली अर्थोडक्स चियालाई चिनाउन स्वदेशमै भब्य प्रदर्शनीहरु गर्नुपर्ने बताए ।

‘हाम्रो अर्थोडक्स चिया विदेशमा त निर्यात भइरहेको छ तर स्वदेशकै पारखीहरुलाई पनि स्वादमा अभ्यस्त गराउन जरुरी छ । वास्तवमा अर्थोडक्स चियालाई नेपालीहरु बुझ्न नसकेको हो कि जस्तो लाग्छ । तर हामी युवाहरुको समूह चिया संस्कृतिको विकास एवम यसलाई व्यवसायका रुपमा अंगालेर स्वदेशमै केही गर्ने प्रयासमा छौं,’ उनले भने ।

विश्व बजारमा नेपाली चियाको माग बढिरहेको भएपनि स्वदेशमा बजारीकरण नभएकाले समस्या भइरहेको टी स्टेसन इन्ककी कोषाध्यक्ष एव उद्यमी उषा योल्मू सुब्बाको धारणा छ ।

‘गुणस्तरीय उत्पादन गरेको खण्डमा विश्वले नेपाली अर्थोडक्स चियालाई एकदमै रुचाएको छ । जसका कारण हामीजस्ता सयौं युवाहरुका लागि चिया उद्योग एक आत्मनिर्भर पेसाका रुपमा विकसित भइरहेको छ । तर सरकारले पर्याप्त ध्यान नदिंदा स्वदेशमै विक्री गर्न समस्या भइरहेको छ,’उनले भनिन् ।

चिया विज्ञ एवम प्राविधिक सोनाम पाल्जोर लामाले अर्थोडक्स चिया पहाडी जिल्लाको गहना भएकाले यसको बजारीकरणमा ध्यान दिनुपर्ने बताए । चिया पेय पदार्थ मात्र नभइ नेपाली समाजको संस्कार र संस्कृति पनि भएकाले स्वदेशमै यसको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय युवाहरुको आकर्षण चिया क्षेत्रमा देखिने गरेको उनले बताए ।

‘धेरै युवा साथीहरुले चिया उद्योगमा लगानी गर्नुभएको छ । चिया प्राविधिक र बजार व्यवस्थापकमा आफूलाई अब्बल सावित गर्दै लैजानुभएको छ । यसका लागि प्रोत्साहन जरुरी छ, सरकार एवम निजी क्षेत्रले यसका बारेमा गम्भीर बन्नैपर्छ,’ लामाले भने ।

चिया विज्ञ एवम् उद्यमी डा.नरेन्द्र गुरुङले नेपालमा उत्पादित चियाका लागि अक्सन सुरु भएकोमा खुशी व्यक्त गर्दै अक्सनका कारण नेपाल र अन्तरर्राष्ट्रिय बजारमा ठूलो फड्को मार्ने बताए । जसका कारण युवाहरुलाई स्वदेशमै बस्न र चियामै आत्मनिर्भर हुन प्रोत्साहन मिलेको उनको भनाइ छ ।

‘नेपालमा दुई करोड ६० लाख किलो वार्षिक चिया उत्पादन हुन्छ । जापानमा मुलाको अक्सन हुन्छ तर नेपालमा चिया रोपण भएको डेढसय वर्ष नाघिसक्यो । किसानस्तरमा गएको ४० वर्ष नाघिसक्यो । अर्थोडक्सकै कुरा गर्ने हो भने ५०–६० लाख किलो उत्पादन भइरहँदा पनि अक्सन नै छैन, मोनोपोली रूपमा व्यापार भइरहेको छ । यसमा राज्यले सोच्नुपर्छ र किसान एवम उद्यमीलाई प्रोत्साहित गर्नसक्नुपर्छ,’ उनले भने ।

अन्तरर्राष्ट्रिय बजारमा नेपाली चिया गुणस्तरीय रहेको औंल्याउँदै चिनियाँसँग प्रतिस्पर्धा गर्नसक्ने उनको बुझाइ छ । ‘वायरको मोनोपोलीकै आधारमा नेपाली चिया विक्री गरिनुरहनुपरेको छ । अक्सनमार्फत टी टेस्टिङ गराएर वायरहरुलाई ल्याएर प्रतिस्पर्धा गराउन सकियो भने नेपाली चियाले उचाइ लिनेछ,’ डा गुरुङले भने । गुरुङले अक्सन मार्केटलाई अघि लैजान निजी र सरकार दुवैले सहकार्य गर्नुपर्ने सुझाव दिए ।

नेपालमा उत्पादित चियालाई ग्रीन, उलङ र ब्ल्याक गरी तीन किसिमले वर्गीकरण गरिँदै आएको छ । यसमध्ये अर्थोडक्स भन्नाले सामान्यतया परम्परागत तवरले पुरानै प्रविधिबाट उत्पादन हुने भन्ने बुझ्न गरिएपनि हिजोआज आधुनिक मेसिनबाट प्रशोधन गरिंदै आएको छ ।

नेपालले वर्षमा करिब तीन करोड किलोग्राम चिया उत्पादन गर्ने गरेको छ । त्यसमध्ये दुई करोड किलोग्राम उत्पादन सीटीसी चियाको छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालले गत आर्थिक वर्ष एक करोड ६५ लाख किलोग्राम चिया विदेश निर्यात गरेको थियो, जसबापत करिब चार अर्ब राजस्व आम्दानी गरेको थियो ।

नेपालमा उत्पादन हुने सीटीसी चियाको करिब ५० प्रतिशत हिस्सा निर्यात हुने गरेको छ भने अर्थोडक्स चियाको करिब ९० प्रतिशत हिस्सा निर्यात हुने गरेको छ । १५ हजारभन्दा धेरै कृषकले अर्थोडक्स चिया उत्पादन गर्ने गरेका छन् ।

तर अक्सन (लिलाम) मार्फत चिया बिक्री गर्ने विधि, प्रक्रिया र केन्द्रको अभावमा नेपाली उत्पादन भारतमा निर्भर हुने गरेको छ । सरकारले ०७१।७२ मा अक्सन सेन्टर बनाउने भन्दै बजेट वक्तव्यमार्फत कार्यक्रम ल्याएको थियो । उक्त कार्यक्रमअन्तर्गत अक्सन कमिटी निर्माण तथा आवश्यक पूर्वाधारसमेत तयार भएका थिए । तर सरकारले अक्सन सेन्टर सञ्चालन गर्ने निर्णय नगरेपछि अहिलेसम्म चियाको अक्सन सेन्टर सञ्चालनमा आउन सकेको छैन् । नेपालमा साना, ठूला र मझौला गरी करिब एकसय २० वटा कारखाना संचालनमा छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  २ : २२ बजे