Logo

Breaking News 1

बझाङमा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव फेला



बझाङ । बझाङमा पहिरोमा पुरिएर बेपत्ता भएका एकै परिवारका चार जनाको शव फेला परेको छ ।

गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरोमा परि बेपत्ता भएका उनीहरुको शव निकालिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोमा पुरिएर मृत भेटिनेमा ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी रहेका छन् । उनीहरूको शव स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको टोलीले निकालेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) फणीन्द्र भण्डारीसहितको टोली समेत राहत सामाग्रीसहित बुङ्गलतर्फ हिडिसकेको छ । प्रहरीकाअनुसार राति करीब साढे १ बजेको समयमा एक्कासि वीरबहादुर धामीको घरमाथिबाट पहिरो गएको थियो ।

पहिरो गएको थाहा पाएपछि ६२ धामीसहितका ६ जना भागेर ज्यान जोगाउन सफल भएका छन् ।

भागेर बाँच्नेमा १६ वर्षीया कमला धामी, ३० वर्षीय उज्ज्वल धामी,१० वर्षीय रोशन धामी, २० वर्षीया शान्ति धामी र ७१ वर्षीय अम्बादत्त जोशी रहेका छन् ।
घाइते भएका उनीहरूको स्थानीय स्वास्थ संस्थामा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  १० : ०८ बजे