Logo

समाचार

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आह्वान


२५ श्रावण २०८१, शुक्रबार  

92
Shares

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही साउन २७ गते दिउँसो २ बजे प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरेका छन् ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले आज प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । सरकारले दुई दिनअघि मात्रै प्रदेशसभाको चालु चौथो अधिवेशन अन्त्य गरेर बिहीवार राजश्व संकलनसम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश प्रदेश प्रमुखबाट बिहीबार नै प्रमाणीकरण भइसकेको छ ।

अध्यादेश प्रमाणीकरणसँगै आर्थिक वर्ष २०८१/८२ को बजेट पारित हुन नसकेर रोकिएको प्रदेश सरकारको कर संकलनसम्बन्धी काम अगाडि बढेको छ । बजेट पारित हुन नसकेर प्रदेश सरकार मातहतका कार्यालयको कर संकलन लगायतको काम ठप्प भएको थियो । तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशसभामा असार १ गते प्रस्तुत बजेट पारित हुन नसकेर अलपत्र परेको थियो ।

सरकारले अध्यादेश जारी गरी कर संकलनको वातावारण बनाएपनि बजेट शून्यताको अवस्था भने अझैँ अन्त्य भएको छैन । मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिइसकेपछि बजेटका विषयमा कारबाही अघि बढाउने तयारी गरेका छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८,नेकपा (एमाले)का ११, नेकपा (माओवादी केन्द)का सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ५ : १९ बजे