Logo

समाचार

सुदूरपश्चिममा कमलबहादुरसहित १० मन्त्रीले शपथ लिँदै



काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो शपथसँगै मन्त्रिपरिषद्लाई पूर्ण दिन लागेका छन् । आइतबार मुख्यमन्त्री नियुक्त भएका शाहले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

आजै अरू नौजनालाई शपथ गराएर उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् । सुदूरपश्चिममा सात मन्त्रालय छ । मन्त्रीको संख्या भने १० पुग्ने भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्रीसहित तीन मन्त्रालय लिन लागिएकामा पाँच मन्त्री बनाइँदै छ । कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकबाट मुख्यमन्त्रीबाहेक थप चारजनालाई सरकारमा पठाउने निर्णय गरिएको थियो । सामाजिक विकास र आर्थिक मामिला मन्त्रालय लिएको कांग्रेसबाट चार मन्त्री सिफारिस गरिएको हो ।

सांसद मेघराज खड्कालाई सामाजिक विकासमन्त्री बनाउने निर्णय गरिएको छ । संसदीय दलको बैठकबाट सरस्वती खड्कालाई सामाजिक विकास राज्यमन्त्री बनाउने निर्णय गरिएको छ ।

यस्तै, बहादुरसिंह थापालाई आर्थिक मामिलामन्त्री बनाउने निर्णय गरिएको छ । सोही मन्त्रालयमा प्रकाशबहादुर बमलाई राज्यमन्त्री बनाउने निर्णय गरिएको छ ।

सत्तासाझेदार दल नेकपा (एमाले)ले आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएको छ । त्यसबाहेक एमालेले एक राज्यमन्त्री पनि पठाउने निर्णय गरिसकेको छ ।

एमाले संसदीय दलले भौतिक पूर्वाधारमा सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुनमा हीरा सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा वीरबहादुर थापालाई पठाउने निर्णय गरेको छ । उनीहरू यसअघि दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा पनि मन्त्री थिए ।

भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा एमालेबाट निर्मलादेवी साउदलाई पठाउने निर्णय गरिएको छ । नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण चौधरी मन्त्री बन्ने भएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ३ : १६ बजे