Logo

कर्णाली प्रदेश

कर्णाली सरकारमा दैलेखबाटै तीन मन्त्री



सुर्खेत । कर्णाली सरकारमा दैलेखबाट तीन मन्त्री बनेका छन् । प्रतिनिधि सभातफै दैलेख क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभाका दुवै क्षेत्रबाट प्रत्यक्ष चुनाव जितेका सांसद मन्त्री बनेका छन् भने एक जना समानुपातिकतर्फका सांसदले मन्त्री बन्ने मौका पाएका हुन् ।

मन्त्री बन्नेमा दैलेख क्षेत्र नम्बर २ (१) का सांसद घनश्याम भण्डारी, २ (२) का विनोदकुमार शाह र २ (२) बाटै गमता विक मन्त्री बनेका छन् । भण्डारी र शाह प्रत्यक्षतर्फबाट निर्वाचित सांसद हुन् भने विक समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् ।

यी तीनै जना यामलाल कँडेल नेतृत्वको सरकारमा छन् । जसमा भण्डारीले आइतबारमात्रै सामाजिक विकास मन्त्रालयको नेतृत्व सम्हालेका छन् भने शाह गत जेठ २ गते नै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका हुन् । यस्तै विक भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्री हुन् । उनले वैशाख १८ गते राज्यमन्त्रीको शपथ लिएकी थिइन् । भण्डारी नेपाली कांग्रेसबाट निर्वाचित हुन् भने शाह र विक एमालेबाट प्रतिनिधित्व गर्दछन् ।

स्रोतका अनुसार विकलाई मुख्यमन्त्री कँडेलले सरकारमा महिला सहभागिताका लागि मात्रै राज्यमन्त्री बनाएका हुन् । सामान्य प्रौढ शिक्षामात्रै लिएकी विक पश्चिम दैलेखको आठबिस नगरपालिका–१ की हुन् । मुख्यमन्त्री कँडेलले कानुन मन्त्रालय आफूसँग राखेर विकलाई राज्यमन्त्री बनाएका थिए । प्रदेश सभामा दैलेखबाट ६ जनाले प्रतिनिधित्व गरेका छन् । तीमध्ये अहिलेको सरकारमा तीन जना मन्त्री बनेका हुन् ।

कतिपय नेताका अनुसार कृषि मन्त्री शाहको निर्वाचन क्षेत्र पनि उही भएको र शाहलाई कमजोर बनाउन कँडेलले विकलाई अघि सारेका हुन् । कर्णालीमा एमालेभित्र कँडेल र शाहको गुटबिच प्रतिस्पर्धा हुने गरेको छ । शाहको नियुक्ति वैशाख १८ मै भए पनि कँडेलसँग असहमति राखेर शपथ ग्रहण बहिस्कार गरेका थिए । पार्टी केन्द्रमा धाउँदा पनि कुनै सिग्नल नपाएपछि बाध्य भएर उनले सोही मन्त्रालयमा चित्त बुझाए भने जेठ २ गतेमात्रै पदभार सम्हाले ।

विकासका दृष्टिकोणले पछि रहेको दैलेख २ बाट मन्त्री बन्नु सकरात्मक भए पनि उनीहरूले उक्त क्षेत्रको विकास र समृद्धिका लागि कत्तिको भूमिका निर्वाह गर्छन्, त्यो भने हेर्न बाँकी नै छ । दुई ठुला मन्त्रालय सम्हालका भण्डारी र शाहको राजनीतिक विरासत लामो छ । शाह यसअघि राजकुमार शर्मा नेतृत्वको सरकारमा केही महिना अर्थमन्त्री समेत बनेका थिए भने राजा ज्ञानेन्द्रको पालाका केन्द्रमा सहायक मन्त्री बनेका थिए ।

भण्डारी यसअघि दुल्लू नगरपालिकाको मेयर भएर काम गरिसकेका युवा नेता हुन्, जो युवाबिच लोकप्रिय छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १२ : २० बजे