Logo

राजनीति

कांग्रेसले अब सुशासनको नारालाई जनताको घरघरसम्म लैजान्छ : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा गरिखाने अवस्थाको सिर्जना र लगानीको वातावरण बनाउँदै रोजगारीको अवसर प्रदान गर्न सक्छु भन्ने अठोट आफूमा रहेको बताएका छन् ।

आइतबार भारतको चण्डीगढमा आयोजित एक कार्यक्रममा उनले अस्थिर सरकारका कारण देशमा संकट निम्तिएकाले कांग्रेस र नेकपा (एमाले) मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थायित्व दिनुपर्छ भन्ने एजेन्डा आफूले सुरुदेखि उठाएको सुनाए ।

“केवल सत्ता टिकाउन सधैँ सानासाना दुई/चार सिट भएका दललाई बोकेर हिँड्दा नेपालले प्रगति गर्न सकेन भन्ने कुरा मनमा आएर मैले नै केही समयदेखि संसद्‌मा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने विषयलाई उठाएको हुँ‚” उनले भने ।

कांग्रेस–एमालेको गठबन्धन सरकारलाई कहीँ कतै गल्ती गर्ने छुट नभएकामा उनले जोड दिए । नेता कोइरालाले कांग्रेसले अब सुशासनको नारालाई जनताको घरघरसम्म लैजाने बताए ।

निरंकुशताविरोधी हरेक प्रजातान्त्रिक आन्दोलनमा भारतमा रहेका प्रवासीले नेपाललाई ठूलो गुन लगाएको उनले स्मरण गरे । “भारतमा रहनुभएका कांग्रेस पार्टीका मात्रै होइन, सम्पूर्ण नेपालीहरूले पुर्‍याउनुभएको योगदानको म मुक्तकण्ठले उच्च प्रशंसा गर्दछु‚” उनले भने ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ५ : २७ बजे