Logo

मुख्य समाचार

जर्मनीको ह्याम्बर्ग मस्जिद बन्द


१० श्रावण २०८१, बिहिबार  

69
Shares

काठमाडौं । जर्मनीको सबैभन्दा ठूलो र पुरानो ह्याम्बर्ग मस्जिद बन्द गरिएको छ । यो मस्जिद ‘ब्लु मोजाइक’ नामले विश्वभर प्रसिद्ध छ । यो मस्जिद शिया मुस्लिम संगठनद्वारा सञ्चालित र इरान सरकारसँग गहिरो सम्बन्ध रहेको जर्मन प्रहरीले जनाएको छ ।

यो संगठनले आतंकवादी संगठन हिजबुल्लाहलाई समर्थन गरेको र इरानमा इस्लामिक क्रान्ति ल्याउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ । जर्मनीले हिजबुल्लाहलाई आतंकवादी संगठन घोषणा गरी २०२० मा प्रतिबन्ध लगाएको थियो ।
बीबीसी रिपोर्टका अनुसार जर्मनीमा प्रहरीले इस्लामिक आतंकवादसँग जोडिएको आशंकामा ५४ स्थानमा छापा मारेको छ । मस्जिदबाहेक मानिसको घरमा पनि छापा मारिएको थियो । यसलाई इस्लामिक कट्टरपन्थीविरुद्धको सबैभन्दा ठूलो कारबाहीका रूपमा उल्लेख गरेका छन् ।

इरानले उक्त कदमको आलोचना गर्दै जर्मनीले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । जर्मन समाचार वेबसाइट ड्युच वेलेका अनुसार जर्मन प्रहरीले बर्लिन, फ्रान्कफर्ट र म्युनिखका तीनवटा प्रमुख मस्जिदमा छापा मारेको हो । प्रहरीले यी मस्जिदहरूलाई इस्लामिक चरमपन्थीसँग जोडिएको र इरानी सरकारको प्रचार प्रसार गरेको आरोप पनि लगाएको छ ।

जर्मनीका घरेलु एजेन्सीहरूका अनुसार इस्लामिक सेन्टर ह्याम्बर्ग (आईजेडएच) को इरानका धेरै मस्जिद र संगठनहरूमा गहिरो प्रभाव छ । सन् १९९३ देखि गुप्तचर एजेन्सीहरूले यसमा नजर राख्दै आएका छन् । यसैबीच, जर्मनीका गृहमन्त्री न्यान्सी फेसरले यो अभियान कुनै विशेष धर्मको विरुद्धमा नभएर प्रजातन्त्रमा विश्वास नगर्ने र चरमपन्थी संगठनसँग आबद्ध भएकाहरूविरुद्ध भएको बताएकी छिन् । न्यान्सी फेसरले उनलाई यहूदी विरोधी भावना भड्काएको आरोप पनि लगाएकी छिन् ।

इरानको आधिकारिक समाचार एजेन्सी इरनाका अनुसार इरानको विदेश मन्त्रालयले तेहरानस्थित जर्मन राजदूतलाई यस घटनाको बारेमा गुनासो गरेको छ । यसलाई इस्लामोफोबिया भनेका छन् र गम्भीर परिणामको चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ८ : १९ बजे