Logo

मुख्य समाचार

राष्ट्रिय गौरवका आयोजनालाई कति लिटर दूध दियो भन्ने हिसाब गरियो : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाको हिसाब कति लिटर दूध दियो, कति बोरा धान, कति घोगा मकै फल्योजस्तो नहुने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा उनले पूर्वाधार विकास कार्यक्रममाथि धावा बोलिएको भन्दै आक्रोश पोखे । “कतिपय राष्ट्रिय गौरवका कुराहरू हुन्छन्, किन बनाइए, त्यसले कति लिटर दूध दियो, कति बोरा धान फल्यो, कति घोगा मकै फलेजस्तो हिसाब हुँदैन त्यसमा,” उनले भने ।

प्रधानमन्त्री ओलीले कतिपय सांसदले पूर्वाधार विकासको विषयलाई खेर गएको सम्पत्तिसरह ठान्ने गरेकामा गुनासो पनि गरे । “पूर्वाधार नै नभईकन कसरी हुन्छ विकास ? त्यसकारण पूर्वाधार भनेको विकासभन्दा अगाडि आउने चिज हो । त्यसले विकास अगाडि बढाउँछ, विकास अघि बढाउन मद्दत गर्छ,” उनले भने, “त्यो कुरा अलिकति नबुझ्न खोजेजस्तो, अस्पताल भवन किन बनाएको ? विद्यालय भवन किन बनाएको ? भन्छन् ।”

प्रधानमन्त्री ओलीले कतिपय गौरव, इतिहास र संस्कृतिको विषय हुने भन्दै समग्र विकासको आधार र उपलब्धिसँग त्यो सरोकार हुने बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ५ : ३० बजे