Logo

मुख्य समाचार

राष्ट्रपतिको चुनावमा बाराक ओबामा पनि बाइडेनको विपक्षमा


४ श्रावण २०८१, शुक्रबार  

46
Shares

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति एवं डेमोक्र्याट नेता बाराक ओबामाले आसन्न राष्ट्रपतिको चुनावमा जो बाइडेनले जित्न गाह्रो हुने बताएका छन् । ‘द वाशिंगटन पोस्ट’ का अनुसार ओबामाले आफ्ना सहकर्मीहरुसँगको छलफलमा वर्तमान राष्ट्रपति बाइडेनले उम्मेदवारी त्याग्नु पर्नेमा जोड दिएका हुन् ।

जुन २८ मा राष्ट्रपतिको बहसमा डोनाल्ड ट्रम्पसँग बाइडेनको पछि परेपछि ओबामाले उनीसँग एकपटक मात्रै कुरा गरेका छन् । ओबामाले बाइडेनको उम्मेदवारीबारे पुनःविचार गर्नका लागि आवश्यक रहेको पनि बताएका छन् । ट्रम्पविरुद्धको बहस पछि पार्टीभित्रै बाइडेनलाई राष्ट्रपतिको होडबाट हटाउने माग बढ्दै गएको छ ।

अब यो सूचीमा सबैभन्दा शक्तिशाली डेमोक्रेट ओबामाको नाम पनि थपिएको छ, जहाँ उनी बाइडेनका सबैभन्दा ठूलो समर्थक भएका छन् । प्रतिनिधि सभाकी पूर्वसभामुख न्यान्सी पेलोसीले पनि बाइडेनले अब चुनावी मैदानबाट पछि हट्नुपर्ने बताइसकेकी छिन् ।

एपी, एनओआरसी सर्वेक्षणका अनुसार ६५प्रतिशत डेमोक्रेटिक मतदाता पनि बाइडेनको विपक्षमा छन् । केवल ३५ प्रतिशत डेमोक्र्याटहरू बाइडेनले चुनाव लड्न चाहन्छन् । ६७ प्रतिशत गोरा मतदाता बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिनुपर्नेमा जोड दिएका छन् ।

अमेरिकाको कुल ३३ करोड जनसंख्यामध्ये ६० प्रतिशत गोरा मतदाता छन् । पार्टी नेता र सहयोगीहरूको बढ्दो दबाबका कारण राष्ट्रपति बाइडेनले यस हप्ताको अन्त्यसम्ममा आफ्नो उम्मेदवारीबाट पुनर्विचार गर्ने सम्भावना अमेरिकी समाचार वेबसाइट एक्सियोसले उल्लेख गरेको छ ।

उपराष्ट्रपति कमलादेवी ह्यारिस (५९) बाइडेनको स्थानमा राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीको अग्रपंक्तिमा उभिएकी छन् । राजनीतिक विश्लेषक टोनी एडमका अनुसार अब डेमोक्र्याटसँग कमलाको विकल्प छैन । कमला यसअघि अमेरिकी सर्वोच्च अदालतमा वकिल भइसकेका छन् । कमलाले आफ्नो कार्यकाल लो प्रोफाइल राखेर बिताइन् । जसका कारण प्रजातान्त्रिक पार्टीमा उनका विरोधी कम र समर्थक बढी छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ९ : २६ बजे