Logo

मुख्य समाचार

किसानको छोरो हुँ, समस्याबारे जानकार छुः मन्त्री अधिकारी



काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले कृषि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रका सबै निराशा हटाएर अगाडि बढ्ने बताए । उनले आफू पनि किसानको छोरा भएकाले किसानले अब मल बिउँ समयमै पाउने जिकिर गरे ।

उनले भने,‘मलाइ विश्वास छ भोलिबाट कृषि क्षेत्रमा के–के अध्ययन गर्न सकिन्छ त्यो सबै म गर्नेछु । म पनि एउटा किसानको छोरा हुँ, किसानको छोरो भएका कारणले कुन बेलामा के चिजको आवश्यक्ता चाहिन्छ भन्ने कुरा सामान्यतया जानकारी राखेको छु । मलाइ  विश्वास  पनि  छ यो  मलको  समस्या आगामी दिनमा आउने छैन । ’

साथै उनले कृषि प्राविधिकहरूको आन्दोलन आज मात्र थाहा पाएको बताए । उनले यो आन्दोलनलाइ अर्थ मन्त्रालयसँग परामर्श लिएर छिटो भन्दा छिटो समस्या समाधान गर्ने बताए ।

२०१८ साल भदौमा धादिङको नेवारपानीमा जन्मिएका अधिकारी नेपाली कांग्रेस धादिङका जिल्ला सभापति हुन् । पार्टीको मूल राजनीतिबाटै उदाएका उनी २०३६ सालको जनमत संग्रह र त्यसपछिका सबै राजनीतिक परिवर्तनमा सहभागी भएका थिए । उनी गिरिजाप्रसाद कोइरालाकै निकट व्यक्ति मानिन्थे ।

२०५६ सालको संसदीय निर्वाचनमा धादिङ क्षेत्र नं २ बाट निर्वाचित उनी पहिलो कार्यकालमै राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनेका थिए ।

उनी यसअघि दुई पटकसम्म जिल्ला सभापति भएका थिए । लगातार दुई पटकभन्दा बढी सभापति प्रतिस्पर्धा गर्न नपाउने व्यवस्थापछि उनले एक कार्यकाल सभापति छाडेका थिए ।

२०६४ र २०७० सालको निर्वाचनमा टिकट पाएर पनि पराजित भएका उनले २०७४ सालमा भने संसदीय निर्वाचनमा टिकट नै पाएनन् । २०७४ सालमा कांग्रेसका दिलमान पाख्रिनले उक्त क्षेत्रबाट टिकट पाएर पराजित भएका थिए । यसपटक भने अधिकारीले टिकट पाएर जित्न सफल भएका हुन् ।   

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ३ : ५४ बजे