Logo

विशेष

कठजोरमा बन्यो नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलालको सालिक सहितको पार्क



रामेछाप । रामेछापको मन्थली नगरपालिका–२ मा कठजोर नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारीको सालिक सहितको पार्क निर्माण भएको छ ।

अधिकारीको जन्म स्थल कठजोरको कठजोर चौरमा उहाँको सम्झनामा मन्थली नगरपालिका र वडाको साझेदारीमा पार्क निर्माण गरिएको हो । वडा कार्यालयले नमुना (कृष्णलाल) पार्क निर्माण बनाएर उहाँ प्रति सम्मान प्रकट गरेको छ ।

विसं १९४४ माघ २४ गते हालको मन्थली नगरपालिका–२ कठाजोरमा जन्मनुभएका कृष्णलाल अधिकारी त्यति बेला सुब्बाको जागिरे थिए । जागिरमा नै रहेका बेला उनले मकै खेती नामक पुस्तक लेखेका थिए । 

मकैको खेती नामक पुस्तक लेखे बापत उनलाई विसं १९७७ साल साउन ११ गते राणाहरूले पक्राउ गरी जेलमा हाले  उनको १९८० सालमा जेलमा नै निधन भयो । नेपाली इतिहासमा सो घटना मकै पर्वको नामले परिचित छ ।

सुब्बाले मकैको खेती नामक पुस्तकमा मकैलाई दुःख दिने रातो र सेतो टाउको गरेका किरा हुन्छ भनि लेखेका थिए । उनका विरोधीले रातो टाउके र सेतो टाउके भनेर रातो र सेतो क्याप लगाउने राणाहरूलाई भनेको हो भनि पोल लगाइदिएका थिए ।

सो पोल लगाएपछि नले प्रकाशित गरेका सबै पुस्तक राणाहरूले जलाउन लगाए । एक हजार प्रति पुस्तक निकालेकोमा एक प्रति फेला परेन । सोही पुस्तक लुकाएको आरोपमा उनलाई जेल हालिएको थियो ।

अधिकारीको सम्झनामा चालु आर्थिक वर्षको नगर र वडाको साझेदारी योजना अन्तरगत ३० लाख रुपैँया बजेटबाट पार्क निर्माण गरिएको मन्थली नगरपालिका–२ का वडा अध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिए ।  पार्क निर्माणका लागि वडाको १५ लाख र नगरको १५ लाख गरी ३० लाख रुपैँया खर्च गरेका छन् । 

सालिकसँगै पार्क निर्माण गरी त्यसलाई घेराबारा गरिएको छ । त्यस्तै सडकबाट पार्कसम्म पुग्ने सिँढी र रेलिङ बनाइएको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  १२ : १९ बजे