Logo

समाचार

शिव पलाँसका गीत पुस्तकमा



गण्डकी । माया गर्नुको अर्थ, आगो भन्ने जान्दाजान्दै, गन्दै जाँदा पिरतीमाजस्ता लोकप्रिय गीतका सर्जक शिव पलाँसको ‘गीति सङ्ग्रह’ बजारमा आएको छ । ‘अनेसास शब्द सारथि’ कार्यक्रमबाट कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा अग्रज गीतकार, समालोचक डा कृष्णहरि बरालले पलाँसका गीतमा रुपक, अलङ्कार, बिम्ब, प्रतीक, सँगसँगै कला र शिल्पको लोभलाग्दो तालमेल भएको उल्लेख गरे ।

कृतिमा विभिन्न सर्वकालिक गीतको भाव रहेको बताउँदै उनले पलाँस महत्वपूर्ण गीतकारका रूपमा स्थापित भएका छन् । उनका गीतमा प्रेम, मिलन, विछोड, देशभक्ति, समाजको चित्रण त छँदै छ, विसङ्गत जीवनदृष्टिसमेत आएको पाइन्छ । साहित्यकार डा ऋषि  बस्ताकोटीले पलाँसका गीत पढ्दा नै गीत भएको महसुस गराउने, लय र अन्तध्र्वनि समाहित भएको उल्लेख गर्दै पलाँसका कतिपय गीत दिमाग खल्बल्याउने र मुटु झस्काउने खालका भएको टिप्पणी गरे । 

अर्का साहित्यकार रमेश पौडेलले आफूले पहिला माया गर्नुको अर्थ गीतलाई चिनेको र पछिमात्र गीतकारसँग परिचित भएको सुनाए । गीतकार हरिहर तिमिल्सिनाले पलाँसका गीत फरक खालका भएको तर्क गर्दै गीतहरू सुन्ने खालका होइनन्, हेर्ने खालका पनि होइनन्, यी त महसुस गर्ने खालका हुनु पर्दछ ।

कार्यक्रममा नम्रता  गुरागाईँ, डा चिरञ्जीवी भट्टराई, राजेन्द्र श्रेष्ठ, सर्वज्ञ वाग्ले, रोहिणी शर्मा, ईश्वर देवकोटा, सरस्वती श्रेष्ठ ‘सरू’, लक्ष्मी थापा, विमल गौतमलगायतले गीतकार पलाँसका रोज्जा गीत सुनाएका थिए। कृतिमा ती गीतसहित ८१ गीत समावेश छन् । आवरण प्रकाशनबाट निस्किएको कृति वितरण पाल्पा बुक्स काठमाडौँले गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  २ : ५२ बजे