Logo

विश्व

मोदी र पुटिनबीच आज भेटवार्ता हुँदै



काठमाडौं । भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ ।

भारत र रुसबीच हुने शिखर वार्ताका लागि भारतमै रहेका पुटिनले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्दैछन् ।

सन् २०१९ को नोभेम्बरमा ब्राजिलमा भएको ब्रिक्स सम्मेलनको साइडलाइन वार्तापछि दुई नेताबीच पहिलो पटक आम्नेसाम्ने भेटवार्ता हुन लागेको हो ।

रुसी विदेशमन्त्री सर्गेई लाभारोभ र रक्षामन्त्री सर्गेइ सोयु समेत राष्ट्रपति पुटिनको भ्रमण दलमा रहेका छन् ।

दुई देशबीच हुने शिखर वार्तामा रक्षा, प्रविधि, कोभिड र अफगानिस्तानलगायतका विषयमा छलफल हुने बताइएको छ । भ्रमणका क्रममा दुई देशबीच ५० अर्ब भारु बराबरको हतियार खरिदको सम्झौता हुने बताइएको छ ।

भारतको अमेठीस्थित इण्डो–रुसी संयुक्त लगानीको कारखानाबाट ‘एके टु जीरो थ्री’ कलास्नोभिक राइफल ५ लाख थान उत्पादनको सम्झौता हुने बताइएको छ ।

यस्तै भारतीय सेनाका लागि २ सय वटा ट्वीन ईञ्जिन ‘कमोभ टु टु सीक्स टी लाइट’ हेलिकप्टर उत्पादनको सम्झौता पनि हुने बताइएको छ । 

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ६ : १३ बजे